रौतहट बमकाण्ड : आलमसहित १० जनालाई जन्मकैद माग
तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो ।

२०७६ कार्तिक १६ शनिबार, बिहान ८:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।
एघार जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् । प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए ।
उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) कसुर अपराधअनुसार कारबाहीको माग भएको कटुवालले बताए । आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…