जल र सूर्य आराधनाको पर्व छठ आज : दुलही झैँ सिंगारियो गंगासागर
छठ पर्व मनाउन जनकपुरधामको गंगासागरसहित मधेशभरका नदी, तलाउ, पोखरी जलासयहरु दुलही झैँ सिंगारिएको छ ।

२०७६ कार्तिक १६ शनिबार, बिहान ८:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको महान एवं निष्ठाको पर्व छठ आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन (छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन) शनिबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिएर छठ मनाउन लागिएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । छठ पर्व मनाउन प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको गंगासागरसहित मधेशभरका नदी, तलाउ, पोखरी जलासयहरु दुलही झैँ सिंगारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…