जनकपुरबाट सुरु भयो नेपाल भ्रमण वर्ष २०२० : कसले के भने ?
उपप्रधानमन्त्री यादवले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई हातेमालो गर्न आग्रह गरे ।

२०७६ कार्तिक १४ बिहीबार, बेलुकी ५:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ आज जनकपुरबाट गरिएको छ ।
हिन्दुहरुको महान चाड छठको पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त तत्वाधानमा जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित कार्यक्रम मार्फत् उपप्रधानमन्त्री उपेन्द्र यादव र पर्यटनमन्त्री योगेश भट्टराई र मुख्यमन्त्री लालबाबु राउत सहितका अतिथिहरुले हातेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक संगम विश्वकै लागि अनुपम रहेको बताएका छन् ।
उपप्रधानमन्त्री यादवले हिमालको चुचुरोदेखि तराई मधेशका फाँटसम्मको प्राकृतिक सौन्दर्यताको वर्णन गर्दै धार्मिक आस्थाका केन्द्र जनकपुर, लुम्वनी लगायतका क्षेत्रहरु पर्यटक लोभ्याउन पर्याप्त रहेको जिकिरसमेत गरे । मुलुकको समृद्धिको लागि पर्यटन प्रमुख आधार बन्नसक्ने तर्क गर्दै उनले पर्यटन क्षेत्रको विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रममा संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटनको विकासको लागि संघीय सरकार तत्पर रहेको बताए । उनले पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको पनि बताए । यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार प्रदेश भित्र धार्मिक करिडोरको निर्माण गर्ने प्रक्रिया शुरु गरिसकेको बताए । उनले यसमा सहयोग गर्न संघीय सरकारलाई आग्रह गर्दै पर्यटकीय विकासमा संघ सरकारसँग हातेमालो गर्न एक कदम अघि बढने प्रतिवद्धता समेत जनाए ।
मुख्यमन्त्री राउतले प्रदेश २ को विकास विना मुलुकको समृद्धि सम्भव नरहेको जिकिर समेत गरे । प्रदेश सरकारले धार्मिक पर्यटनको महत्व बुझेर नै आफ्नो विकासको पहिलो कदम जानकी मन्दिरबाट शुरु गरेको बताउँदै उनले अन्य पर्यटकीय स्थलहरुको विकासमा समेत प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
प्रदेश २ का उद्योग, वन तथा पर्यटनमन्त्री राम नरेश रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी विभिन्न विशिष्ट वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो संस्कृतिको झझल्को दिने गरी प्रस्तुती समेत दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…