जनकपुरमा माछा, मासु र मदिरा विक्रीवितरणमा रोक
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरिमा यस्तो नियम लागू गर्नुपर्ने माग समेत समाजिक सञ्जाल मार्फत गरिएको छ ।

२०७६ कार्तिक १४ बिहीबार, दिउँसो ३:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई-मधेशमा मनाइने महान निष्ठाको व्रत छठ पर्वको अवसरमा जनकपुरको परिक्रमा क्षेत्रभित्र माछा, मासु, मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले विहिबार एक पत्र काट्दै हिन्दुहरुको पवित्र पर्व छठको अवसरमा कार्तिक १४ गतेदेखि नै ब्रतालु महिलाहरुबाट छठ पर्वको विधिवत प्रारम्भ गर्ने भएकोले सो क्षेत्रभित्र माछा, मासु, मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाइएको जनाइएको छ । छठलाई मध्यनजर गर्दै धार्मिक सहिष्णुता, सांम्प्रादायिक सदभाव एवम् पारस्परिक हितका दृष्टिले जनकपुरधाम स्थित परिक्रमा सडक र सडक क्षेत्रभित्र ती गतिविधि गर्न रोक लगाइएको जनाइएको छ ।
पत्रमा उल्लेख गरिए अनुसार कार्तिक १५, १६ र १७ गतेका दिन माछा, मासु, मदिरा सेवन, विक्री वितरण तथा कारोवार नगर्न नगराउन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम सूचना प्रकाशित गर्दै त्यस क्षेत्र भित्र माछामासु, मदिरा सेवन तथा विक्रि वितरणमा रोक लगाइएको जनाइएको छ । साथै, सूचनालाई अवहेलना गरे प्रचलित कानुन बमोजिम कारवाही गरिने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलद्धारा जारी गरिएको सूचना पत्रमा उल्लेख गरिएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय धनुषाले मात्र जनकपुरको लागि त्यस्तो नियम लागू गरेपछि प्रश्नचिन्ह समेत खडा भएको छ । समाजिक सञ्जालमा जिल्ला प्रशासन कार्यालय जिल्लाभरिको लागि की जनकपुरको लागि मात्र भएको भनेर प्रश्न तेर्साएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरिमा यस्तो नियम लागू गर्नुपर्ने माग समेत समाजिक सञ्जाल मार्फत गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…