कार्तिक पूर्णिमा : कमला धारमा भव्य मेला, देशविदेशका व्यक्तित्वहरु आउँदै
शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाको विशेष सक्रियतामा रामघाट स्थित विशाल मेलाको आयोजना गरिने भएको छ ।

२०७६ कार्तिक १२ मंगलबार, बिहान ११:१३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो कार्तिक २६ गते कार्तिक पूर्णीमाको दिन कमला नदी (धार) मा भव्य मेलाको आयोजना गरिने भएको छ ।
कमला जलाधार संरक्षण अभियान अर्थात कमला बचाउ अभियानको सक्रियतामा धनुषा र सिरहा जिल्लाको बीचमा रहेको कमला नदीको रामघाटमा विशाल मेलाको आयोजना गरिने भएको छ । प्रत्येक वर्ष भूत मेला भनेर कमला स्नान गर्ने सर्वसाधारणहरुको लागि विशेष सुविधा सहित भव्य मेलाको आयोजना गर्न लागिएको हो । कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा कार्तिक २६ गते नेपाल, भारत सहित अन्य देशका जलपुरुष, मन्त्रीगण लगायत विभिन्न व्यक्तित्वहरु आउने भएको छ ।
धनुषाको तर्फबाट कमला किनारमा पर्ने स्थानीय सरकार तथा सिरहा जिल्लाको तर्फबाट कमला किनारमा पर्ने स्थानीय सरकारको सहकार्य र सहयोगमा विशाल मेलाको आयोजना सहित कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सव मनाउन लागिएको हो । कमला धारको शहिदनगर नगरपालिका तथा सबैला नगरपालिकाको सीमामा पर्ने रामघाटमा भव्य कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको हो ।
शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाको विशेष सक्रियतामा रामघाट स्थित विशाल मेलाको आयोजना गरिने भएको छ । कमला बचाउ अभियानका सँस्थापक अध्यक्ष एवम् अभियानी विक्रम यादवको अगुवाईमा धनुषा र सिरहा जिल्लाको स्थानीय सरकारले यसपाली भव्य रुपमा कार्तिक पूर्णिमा मनाइने भएको छ । कमला नदीको विभिन्न ठाउँमा कमला स्नान गर्न आउने श्रद्धालुहरुले यसपाली रामघाटमा मोटो सँख्यामा सहभागीता जनाउँने विश्वास लिइएको छ ।
धनुषाबाट कमला नगरपालिकाका मेयर राम उदगार गोईत, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) सबैला नगरपालिकाका मेयर विजय शंकर साह, गणेशमान चारनाथ नगरपालिकाको तर्फबाट विभिन्न वडाका वडाध्यक्ष सहित सिरहा कर्जन्हा नगरपालिकाका मेयर गँगा पासवान, कल्याणपुर नगरपालिकाका मेयर सूर्य नारायण मण्डलको विशेष उपस्थितिमा कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सव कार्यक्रमको लागि योजना र विभिन्न रणनीतिसम्बन्धी छलफल गरिएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहा स्थित कमला नदीको किनारमै रहेको कमला सिंचाई आयोजनाको भवनमा बसेको धनुषा र सिरहाको नगर प्रमुखहरुको विशेष बैठकबाट नेपाल भारतको विभिन्न दिग्गज व्यक्तित्वहरुको सम्मान तथा स्वागतको लागि योजनाहरुबारे समेत छलफल गरिएको हो । कार्तिक पूर्णिमामा प्रदेश नं. २ को विभिन्न जिल्लाबाट कमला नदीमा स्नानको लागि आउने श्रद्धालुहरुको लागि उत्तम व्यवस्थापन तथा मेला व्यवस्थापनको लागि नगर प्रमुखहरुले रणनीति उपर छलफल गरेका थिए ।
सो क्रममा भारतीय अतिथिहरुहरुलाई स्वागत सत्कार सहित कमला नुहाउन आएका श्रद्धालहरुको लागि कमला धारमै भोजनको व्यवस्था, अस्थायी शौचालयको व्यवस्था, जोगी महात्माहरुको व्यवस्थापन सहित नाचगान, साँस्कृतिक कार्यक्रमहरुको बारेमा विचारविमर्स गरिएको हो । छलफलको क्रममा धनुषा र सिरहाका नगर प्रमुखहरुले सुरक्षा व्यवस्थापन तथा स्थानीय सरकारको तर्फबाट गरिने सहयोगको थप अख्तियार हेतु धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको हो ।
वृहत छलफल कार्यक्रममा कमला बचाउ अभियानका सँयोजक विक्रम यादव, सचिव विनोद महरा, गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष गणेश कुमार सिँह, कमला बचाउ अभियानी सुरेन्द्र यादव, मनोहर ठाकुर, कमला नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मो. समसुल मियाँ, शहिदनगरका पवन कुमार साह, कमला अभियानी राजकिशोर सल्हैता, कर्जन्हा नगरपालिकाका सत्यनारायण यादव सहित विभिन्न नगरपालिकाका अभियानीहरुको सहभागीता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…