बारा-पर्सा हुरीको प्रतिवेदन सार्वजनिक, यस्तो सुझाव !
हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्याएको थियो ।

२०७६ कार्तिक ८ शुक्रबार, बिहान १०:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नाडो) पर्साको सखुवा–पर्सौनीमा सुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह हुँदै बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।
जल तथा मौसम विज्ञान विभागले यो विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ ।
नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै यो टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।
समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा सुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिए ।
समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्विर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उनले बताए ।
तथापि भू–उपग्रहको तस्वीरले निकुञ्जभित्र ‘घुम्रपात’ले जम्मा नौ किमिको दूरी तय गरेको प्रतिवेदनमा उल्लेख छ । ‘घुम्रपात’ले पर्साको जग्गनाथपुरदेखि बाराको बैरियासम्मको मानव बस्ती क्षेत्रमा तय गरेको दूरी र समयको अध्ययन गर्दा भने ‘घुम्रपात’ले ३४ किमि प्रतिघण्टाको गतिले यात्रा गरेको आँकलन गरिएको छ ।
प्रतिवेदनमा ‘घुम्रपात’ जस्ता अतिजन्य मौसमको कारणले हुने धनजनको क्षतिन्यूनीकरण गर्न आवश्यक उपकरण र स्रोतसहितको पूर्वसूचना प्रणाली विभागमा स्थापना गर्न र यस्ता अतिजन्य मौसम प्रणालीको थप अध्ययन र अनुसन्धान गर्न सुझाव दिइएको छ । साथै प्रतिवेदनमा घुम्रपातको प्रारम्भिक अध्ययनमात्र गरिएको हुनाले यो ‘घुम्रपात’को मौसमी अवस्थाको विभिन्न दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय ‘घुम्रपात’ तथा अतिजन्य मौसमसम्बन्धी विज्ञको सहकार्यमा विस्तृत अनुसन्धान गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ ।
यस्ता मौसमी घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न विभागलगायत सम्बन्धित केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकाय तथा स्थानीय जनसमुदायले अपनाउनुपर्ने पूर्वतयारी पद्धतिको विकास गरी लागू गर्न सुझाव दिइएको छ । टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्याएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…