सिरहा : विद्यालयमै रेडियो सञ्चालन, उद्घाटन गर्न आएका उद्योगमन्त्री यादवविरुद्ध प्रदर्शन
जनप्रतिनिधिलाई छलेर नगरको स्रोत अपारदर्शी ढंगले लगानी गरी सञ्चालन गरिएको रेडियो मन्त्रीले नै उद्घाटन गरेर साथ दिएको भन्दै विरोध गरिएको हो ।

२०७६ कार्तिक ४ सोमबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको विरोधमा आफ्नै नेता कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
सिरहाको कर्जन्हामा शुभकामना आदानप्रदान र सामुदायिक रेडियोको उद्घाटन गर्न आइतबार आएका मन्त्री यादवविरुद्ध नेकपाकै कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । जनप्रतिनिधिलाई छलेर नगरको स्रोत अपारदर्शी ढंगले लगानी गरी सञ्चालन गरिएको रेडियो मन्त्रीले नै उद्घाटन गरेर साथ दिएको भन्दै विरोध गरिएको हो ।
कर्जन्हा नगरका ११ मध्ये ६ वटा वडाका वडाध्यक्ष, वडासदस्य, नेकपाका करिब एक दर्जन जिल्ला सदस्यसहित स्थानीय नेता–कार्यकर्ताको समूहले बस्तीपुर बजारमा मन्त्री यादवविरुद्ध प्रदर्शन र कोणसभा गरे । बस्तीपुर बजारमा बिहान ११ बजेदेखि भेला भएका असन्तुष्ट नेता–कार्यकर्ताको विरोध प्रदर्शन रोक्न ईलाका प्रहरी कार्यालय मिर्चैया र जिल्लाबाट समेत थप नेपाल प्रहरी र सशस्त्र प्रहरी मगाइएपनि विरोध प्रदर्शन र कोणसभा गरेका छन् ।
कर्जन्हा–११ स्थित जनसेवा मावि भवनको एउटा कोठामा स्टुडियो निर्माण गरी १ असोजदेखि परीक्षण प्रसारण प्रारम्भ भएको रेडियो गंगाजल ८७.८ मेगाहर्जको मन्त्री यादवले आइतबारदेखि विधिवत् उद्घाटन गरेसँगै विरोध सुरु भएको छ । बालबालिका पढ्ने विद्यालयमा रेडियो सञ्चालन गर्दा दैनिक पठनपाठनमा अवरोध पुग्ने भएपनि मेयरले मन्त्रीबाट नै उद्घाटन गराएर विरोधीहरूलाई ‘मन्त्री नै आफ्नो पक्षमा रहेको’ देखाउन खोजेको उनीहरुको आरोप छ ।
पार्टीको नेता र मन्त्रीभन्दा गुटको प्रतिनिधित्व गरेर कर्जन्हा आएकाले बाध्य भएर विरोध गर्नुपरेको नेकपाका स्थानीय नेता रामअवतार राईले बताए । उनले भने, ‘स्थानीये निर्वाचनपछि नगरका मेयरले गुटको आडमा बहुमत जनप्रतिनिधिलाई छलेर काम गरिरहेका छन्, सिंगो पार्टीलाई सबल बनाउनेभन्दा मन्त्रीले मेयरलाई मात्र काखी च्यापेर अगाडि बढ्न खोजेपछि विरोध गरिएको हो ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…