सांसद साहको रिहाई माग्दै जनकपुरमा टायर बालेर प्रदर्शन
बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बोलेकै कारण पक्राउ गरेको भन्दै आपत्ति प्रकट गरेको छ ।

२०७६ असोज २८ मंगलबार, बेलुकी ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद प्रमोद साहको रिहाईको माग गर्दै जनकपुरमा टायर बालेर प्रदर्शन भएको छ ।
यात्रुलाई सास्ती दिने हवाई कम्पनीलाई कारवाही गर्नुको साटो त्यसको विरुद्ध आवाज उठाएका सांसद साहलाई पक्राउ गरिएको भन्दै राजपा समर्थकहरुले मंगलबार साँझ टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले बुद्ध एयर र सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा राजपा सांसद साहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । आज पक्राउ गरिएका साहलाई बुधवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।
साहमाथि गैरसैनिक हवाई उडान ऐन, २०१५ दफा ९ को (६) बमोजिमको कसूरमा अनुसन्धान हुने प्रहरी उपरीक्षक शेखर खनालले बताए । कसूर ठहर भए सांसद साहलाई ५ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्ने उनको भनाइ छ ।
यता, राजपाले आफ्नो सांसदलाई तत्कालै रिहा नगरे कडा जवाफ दिने चेतावनी दिएका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी सांसद साहलाई रिहा गर्न माग गरेको छ ।
साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ । बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको भन्दै राजपा नेपालले आपत्ति प्रकट गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…