विमानस्थलमा बिरामी तड्पिरहेको हेर्न नसकेर तोडफोडमा उत्रिन बाध्य भएँ : सांसद साह
उनले भने, ‘हामी चार–चारजना सांसद त्यहीँ भएको अवस्थामा एउटा बिरामीको मृत्यु भयो भने कस्तो सन्देश जान्छ ?’

२०७६ असोज २७ सोमबार, राति १०:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद प्रमोद साहले जनकपुर विमानस्थलस्थित वुद्ध एयरको काउण्टरमा गरेको तोडफोडको घटना यतिबेला सञ्चारमाध्यममा व्यापक छाएको छ ।
सांसद साहले विमानस्थलमा भइरहेको चरम लापरवाही भइरहेको हेर्न नसकेर आवेशमा आएको प्रतिक्रिया दिएका छन् । विमास्थल सम्बन्धमा वुद्ध एयरका जनकपुर विमानस्थल इन्चार्ज र धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक जानकारी गराउँदासमेत बेवास्ता गरेपछि आफू तोडफोडमा उत्रिएको सांसद साहले बताएका हुन् ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट सर्लाही १ मा निर्वाचित सांसद साह संघीय राजधानी काठमाडौं जान आज बिहान जनकपुर विमानस्थल पुगेका थिए । त्यसक्रममा घण्टौंसम्म कुर्दा समेत निर्धारित समयमा विमानले उडान नभरेपछि उनी आक्रोशित भएका थिए ।
विमान समयमै नउड्दा काठमाडौं जान आएका एकजना मुटु रोगीको अवस्था निकै नाजुक भएपछि सांसद साहले धनुषाका प्रमुख जिल्ला अधिकारी र विमानस्थलका प्रमुखलाई पटक–पटक जानकारी गराए । तैपनि सुनवाई नभएपछि आफू् तोडफोडमा उत्रिँदै कर्मचारीलाई हातहात गरेको सांसद साहको भनाई छ ।
उनले भने, ‘काप्दै अएका मुटुका बिरामी दुई घण्टा पर्खदा समेत विमान उड्ने अत्तोपत्तो थिएन्, यसबारे सिडिओ र वुद्ध एयरका इन्चार्जलाई बारम्बार भन्दा सुनुवाई गर्नु भएन ।’ अगाडि भने, हामी चार–चारजना सांसद त्यहीँ भएको अवस्थामा एउटा बिरामीको मृत्यु भयो भने कस्तो सन्देश जान्छ ? त्यसपछि म आक्रोशित भएर तोडफोडमा उत्रिन बाध्य भएँ ।’
विमानस्थलको लापरवाहीबारे आफूले संसदमा पनि कुरा उठाउने र मन्त्रीलाई समेत भेटेर ध्यानाकर्षण गराउने सांसद साहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…