प्रहरी भन्दा अपराधी नै एककदम अगाडि : मुख्यमन्त्री राउत
मुख्यमन्त्री राउतले अब पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने बताए ।

२०७६ असोज २४ शुक्रबार, दिउँसो २:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी भन्दा अपराधी नै एक कदम अगाडि भएको जिकिर गरेका छन् ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ द्धारा आज जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रहरी भन्दा अपराधी अगाडि रहेकाले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको बताएका हुन् । उनले अब पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने बताए ।
अब नयाँ ढंगले काम कारवाही गर्नुपर्ने आवश्कता औल्याउँदै उनले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । उनले नयाँनयाँ प्रविधिको विकासले अपराधीहरु पनि त्यही प्रविधिहरुले प्रयोग गरिरहेको हुनाले त्यस्ता अपराधहरु नियन्त्रणको लागी प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको उल्लेख गरे ।
मुलुक नयाँ संरचनामा गइसकेको अवस्थामा प्रहरीलाई समेत सोही अनुरुप आफूमा परिवर्तन ल्याउनुपर्ने बताउँदै उनले मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । अपराध अनुसन्धानको क्रममा राजनीतिक आग्रह पूर्वाग्रहबाट जोगिन समेत मुख्यमन्त्री राउतले निर्देश गरे । त्यस्तो केही परे प्रदेश सरकार साथमा रहेको समेत बताए ।
प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई त्यही अनुरुप अगाडी बढाउनुपर्ने आवश्यकता औल्याए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण हरी पुस्कर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अमर प्रहरी स्तम्भमा पुष्पमाला अर्पण गर्नुका साथै अमर प्रहरीका परिवारजनलाई सम्मान समेत गरिएको छ भने उत्कृष्ट प्रहरी अधिकारी एवं जवानहरुलाई पुरस्कृत समेत गरिएको छ । कार्यक्रमको अवसरमा प्रहरीलाई शान्ति सुरक्षाको क्रममा सघाउने विशेष व्यक्तित्व एवं समाजमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई दोसल्ला सहित कदरपत्र समेत प्रदान गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…