४ महिनादेखि बाटो पूर्णरुपले ठप्प, जनप्रतिनीधिलाई मतलब छैन
यता, दुर्गम क्षेत्र हेतु विजुली प्रयोजनको लागि आएको सोलार सिस्टम समेत उनले एउटै आफ्नो घर पछाडी मात्र लगाएको बताइएको छ ।

२०७६ असोज २१ मंगलबार, बेलुकी ६:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडाको बाटो विगत ४ महिनादेखि ब्लोक (बन्द) भएपनि जनप्रतिनीधिहरु खासै चासो देखाएका छैनन् ।
जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मलहनियाँदेखि फूलबरिया जाने बाटो विगत ४ महिनादेखि ब्लोक भएपनि वडाध्यक्ष वा गाउँपालिकाका पदाधिकारीहरुले चासो नदिएको कारण आम सर्वसाधारण खतरापूर्ण र जोखिमपूर्ण बाटो अपनाउन बाध्य भएका छन् । गत असारमै आएको भिषण बाढीले कमला नदिको तटबन्ध भत्काउँदा बगाएको बाटो अहिलेसम्म जिर्णोद्धार नहुँदा स्थानीयवासीहरु पीडित भएका छन् ।

वडा नं. १ मल्हनीया गाउँ र मुख्य सडकबाट जोडिएको उक्त सडकमा अहिले पनि हिलो र पानी जमेकै कारण सवारी आवागमन गर्न समेत कठिनाई भएको छ । यस बारे वडावासीहरुले वडाध्यक्ष धर्मेन्द्र गोईतलाई पटक पटक जानकारी गराएपनि कुनै प्रकारको चासो नलिएको गुनासो नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए । उनले भने, - "हामीले पटक पटक सडकको जिर्णोद्धारको लागि वडाध्यक्षलाई भन्यौ, उनले खासै चासो लिएनन्, हाम्रो वडामा शून्य विकास भन्दा पनि हुन्छ । वडाध्यक्षमा जीतेदेखि अहिलेसम्म एउटै विकास गरेको छ त्यो हो उनले आफ्नो घरको पछाडी सोलार लगाएको, बाँकी पुरै गाउँ त्यतिकै अँध्यारो छ ।" त्यस गाउँमा करिब २ वर्षअघि नै विजुली बत्ति भने बलिरहेको जनाइएको छ ।

जनकनन्दनी गाउँपालिका वडा नं १ मालहनिया देखि फूलबरिया जाने मेन रोडको करिब २ किलोमटिरको बाटो अति जीर्ण भएपनि गाउँपालिकाको कुनै जनप्रतिनीधिले चासो नलिँदा हालात जरजर भएको बताइएको छ । पहिलेदेखि नै त्यो बाटोको अवस्था जीर्ण रहेपनि गत असारको बाढीले झन हिडनै नसकिने बनाएपछि पैदलयात्रीलाई पनि सास्ती भएको बताइएको छ । भारतीय सीमासँग जोडिएर रहेको मल्हनीयाँ धनुषाको दुर्गम गाउँमध्ये एक मानिन्छ । लाखौंको बजेट विनियोजन भएपनि आसेपासलाई उपभोक्ता समिति र कमिशनमा कुरा नमिलेपछि बाटो जौं को त्यौं रहेको आरोप लगाइएको छ ।
यता, दुर्गम क्षेत्र हेतु विजुली प्रयोजनको लागि आएको सोलार सिस्टम समेत उनले एउटै आफ्नो घर पछाडी मात्र लगाएको बताइएको छ । सोलार सिस्टम त्यस वडाको लागि वडाभरि सार्वजनिक स्थल र विजुली कटेको बेला सुरक्षा दृष्टिकोणले जडानको लागि पारित भएपनि वडाध्यक्ष गोईतले आफ्नो घरपछाडी मात्र जडान गरेको बताइएको छ । यस सन्दर्भमा गाउँपालिकाका उपाध्यक्ष भारती कार्की, अध्यक्ष अब्दुल बारिक शेख र वडाध्यक्ष धमेन्द्र गोईतसँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन् । गाउँपालिका अध्यक्ष शेख र वडाध्यक्ष गोईतको मोबाईल स्वीच अफ आइरहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…