यौन काण्डमा फसेका महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी
असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए ।

२०७६ असोज १८ शनिबार, दिउँसो १:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । यौन दुव्र्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध अन्ततः जाहेरी परेको छ ।
जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार उजुरी दर्ता गराएकी छन् ।
जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ । ‘भोलि आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गर्नेछौं’, प्रहरी उच्च स्रोतले भन्यो ।
असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन् ।
भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो । प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन् ।
तर, महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् ।
यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद समेत गर्यो । बयान फेरेकी रोशनीले अन्ततः महराविरुद्ध जाहेरी दर्ता गराएकी छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…