जनकपुरमा दुर्गा पूजा हेर्न पर्यटकको घुइँचो, यस्तो छ दशैंको चहलपहल !
राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ ।

२०७६ असोज १७ शुक्रबार, बिहान ८:५९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धार्मिक तथा साँस्कृतिक नगरी जनकपुरधाममा दशैं सुरु भएलगत्तै चहलपहलमा ह्वात्तै बढेको छ ।
जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर लगायत एक दर्जन भन्दा बढी स्थानमा शक्ति स्वरुपा दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लास पूर्वक दसैं मनाइँदै छ । राजदेवी मन्दिरका साथै पुजास्थलहरु बेहुली झैं सजाइएको छ ।
झिलिमिलि बत्ति जडान गरी सजाइएका जनकपुरका मन्दिरहरु जो कोहीलाई आकर्षित गरिरहेको हुन्छ । जनकपुर पूजाआजा गर्नेहरुका साथै जनकपुर घुम्न आएका पर्यटकहरुका लागि समेत मनोरम बनेको छ ।
पूजा हुने स्थानहरुमा बिहानदेखि साँझसम्म निरन्तर भइरहने दुर्गा स्तुती, भजन, किर्तनले थप धार्मिक माहौल बनको छ । स्थायी मन्दिरबाहेक माटोको प्रतिमा निर्माण गरी दशैं पूजा गर्ने पुरानो परम्पारालाई समेत यहाँका युवाहरुले जीवन्त राख्ने प्रयास गरेका छन् ।
यस क्षेत्रमा दशैंमा भव्य दुर्गाको प्रतिमा निर्माण गररे दशैं अवधिभर पूजाअर्चना गर्ने पुरानो परम्परा रहेको छ । दसैंमा माता दुर्गाको पूजाअर्चना गर्न राम मन्दिर परिसरमा रहेको राजदेवी मन्दिर, विद्यापति चोक स्थित दुर्गा मन्दिर, रामानन्द चोक, पिडडीया माइस्थान, वौधीमाई रजौल लगायतका स्थानहरुमा भव्य सरसजावट गरिएको छ ।
जनकपुरमा दसैंलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौ खर्च गरेका छन् । राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ ।
वर्षौदेखि जीर्ण अवस्थामा रहेको राजदेवी मन्दिरलाई स्थानीय महावीर युवा कमिटीको सक्रियतामा सौन्दर्यीकरण गर्न जीर्णोद्धार गरिएको छ । दशैं सुरु भएलगत्तै राजदेवी मन्दिरमा श्रद्धालुहरु आउने गरेपनि विगत दुई दिनयता भिडभाडमा अत्याधिक वृद्धि भएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले बताए ।
यसैगरी स्थानीय रामानन्द युवा क्लबले रामानन्द चोकमा माटोको प्रतिमा निर्माण गरी हरेक वर्ष झैँ यस वर्ष पनि दसैं पूजाको आयोजना गरेको छ । ठुलो पण्डाल निर्माण गरी हुँदै गरेको दसैं पूजा विजया दशमीक दिन सम्पन्न हुने रामानन्द युवा क्लबका अध्यक्ष मनमोहन साहले बताए ।
पण्डाल निर्माण गरी दसैंपूजा गर्न करिब १२ लाख सम्म खर्चको अनुमान रहेको अध्यक्ष साहको भनाइ छ । स्थानीयहरुबाट प्राप्त आर्थिक सहयोगले पूजा व्यवस्थान गरिएको उनले बताए । यसैगरी विद्यापति युवा क्लबले स्थानीय विद्यापति चोकमा भव्य प्रतिमाको स्थापना गरी दसैं पूजा गर्दै आइरहेको छ ।
दुर्गा पूजा गरिने विभिन्न स्थानहरुमा विहानैदेखि श्रद्धालुहरुको घुइँचो रहने गरेको छ । श्रद्धापूर्वक मनाइने दसैंको अवसरमा विशेष गरी महिलाहरु एका बिहानै शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्ने गरेका छन् ।
नेपालमै चर्चित रहेको जनकपुरको दुर्गा पूजा हेर्न पर्यटकहरुको समेत घुइँचो देखिन थालिएको छ । यस वर्ष दशैंमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य संख्यामा उपस्थिति देखिएको युवा समाजसेवी प्रमोद चौधरीले बताए । चौधरीले यहाँको दसैंको आफ्नो अलग पहिचान रहेको र यसलाई जोगाइ राख्न स्थानीय युवाहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए ।
यता, दसैंको अवसरमा हुने भीडभाडलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना बनाएको छ । विजया दशमीदेखि छठ सम्म हुने भीडभाडको क्रममा कुनै प्रकारक अप्रिय घटना रोक्न विशेष जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुरक्षा योजना लागू गरेको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…