मधेशलाई अलगै देश पनि बनाउन सक्छौं : महन्थ ठाकुर
अधिकार खोसिएको भन्दै अहिलेको संविधानलाई मधेशले नमान्ने र यस्तै रहे मधेशलाई अलग देश पनि बनाउन सक्ने चेतावनी दिए ।

२०७६ असोज ३ शुक्रबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले संविधान संशोधनको मुद्दा अझ सम्बोधन नभए मधेश अलगै देश हुनसक्ने चेतावनी दिएका छन् ।
जनकपुरधाममा शुक्रवार आयोजित संविधान विरुद्धको एक कार्यक्रममा नेता ठाकुरले सरकार मधेशको मुद्दाप्रति अब पनि गम्भीर नभए मधेश अलगै देश हुनसक्ने बताएका हुन् । उनले मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएको भन्दै अहिलेको संविधानलाई मधेशले नमान्ने र यस्तै रहे मधेशलाई अलग देश पनि बनाउन सक्ने चेतावनी दिए ।
मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि उनले गरे । नेपालको संविधान २०७२ मा जनताको अवधारणाः राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला, मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।
मुख्यमन्त्री राउतले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउनुपर्ने चेतावनी दिए । आज असोज ३ गते संविधानको दिवसको दिन मधेशमा विगत झैँ कालो दिनको रुपमा मनाइँदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…