कमला नदी नियन्त्रण आयोजनामा करोडौं भ्रष्टाचार भयो, छानविन होस् : अरगरिया
सरकारले खर्चिदै आएको करोडौं रकमबाट सम्बन्धित कर्मचारीहरु मात्र मोटाएको र किसान रित्तै रहेको भन्दै यसको छानविनको लागि एक्सनमा उत्रेका छन् ।

२०७६ भदौ १८ बुधबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सांसद उमाशंकर अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा भएको भ्रष्टाचारबारे सदनमा आवाज उठाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद अरगरियाले कमला नदी नियन्त्रण आयोजनामा व्यापक भ्रष्टाचार भएको दावी गदैं यसउपर तत्कालै छानविन गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।
धनुषा र सिरहा जिल्लाको सिमामा पर्ने कमला नदी नियन्त्रण तथा किसानलाई सिंचाई उपलब्ध गराउन सरकारले खर्चिदै आएको करोडौं रकमबाट सम्बन्धित कर्मचारीहरु मात्र मोटाएको र किसान रित्तै रहेको भन्दै यसको छानविनको लागि एक्सनमा उत्रेका छन् ।
सरकारले कमला नदी नियन्त्रण आयोजना मार्फत् करोडौं रकम खर्चिदै आएपनि विभागका कार्यालय प्रमुख, ईन्जिनियर र कर्मचारीहरू कमिसनमा विभिन्न उपभोक्ता समिति गठन गरेर बजेट अनियमितता गरेकोबारे सांसद अगरियाले सदनलाई जानकारी गराए । कर्मचारीहरुले उपभोक्ता समितिबाट ३० प्रतिशतदेखि ५० प्रतिशतसम्म कमिसन लिएर गुणस्तरहीन काम गराई करोडौं भ्रष्टाचार गरेको उनले दावी गरे ।
उच्च जोखिममा रहेको कमला नदी आसपासको क्षेत्रमा कमसल निर्माण हुँदा झन जोखिम बढेको भन्दै सरकारलाई यसप्रति गम्भीर हुन सुझाएका हुन् । भ्रष्टाचारका कारण सिंचाई निर्माण नहुँदा यसक्षेत्रका किसान विच्चलीमा परेको उनको भनाई छ ।
उनले भने, ‘कमला सिचाई प्रभावकारी रुपमा अगाडि बढे धनुषाका सयौं बिघा जग्गामा सिंचाई पुग्छ, सिंचाईको अभावमा किसानहरु विचल्लीमा छन्, किसानहरुले लगाएको धान पानीको अभावमा सुक्न थालेको छ ।’ सरकारले धान किसानका लागि राहत तथा खेतमा पानी उपलब्ध गराउन सक्ने उपकरण वितरण गर्नुपर्ने समेत उनले माग गरे ।
सरकारले निर्धारण गरेको मापदण्ड विपरित कार्यालयको मिलोमतोमा आयोजनाको गुणस्तरहीन काम भएको भन्दै सम्बन्धित पक्षले स्थलगत अनुगमन र मूल्यांकन गरी कारवाही गर्न उनले सरकारलाई सुझाए ।
धनुषा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित तथा समाजवादी पार्टीका प्रमुख सचेतकसमेत रहेका नेता अरगरिया जनसरोकारको सवालमा सदनमा सधैं कडा भएर प्रस्तुत हुँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…