असोज ३ गते मधेश सरकार 'दिपावली' गर्ने, राजपा 'कालो दिवस' !
गत वर्ष उनकै पार्टीकी रेणु यादवले भने संविधान दिवसमा कालो दिवस मनाएकी थिइन ।

२०७६ भदौ १८ बुधबार, बिहान ८:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको सँयुक्त सरकार रहेको प्रदेश नं. २ मा संविधान दिवसको कार्यक्रम अन्तर्गत कत्तै दिपावली त कत्तै कालो दिवस मनाइने भएको छ ।
आगामी असोज ३ गते मनाइने नेपालको संविधान २०७२ अर्थात संविधान दिवसको अवसरमा सत्तासिन दल समाजवादी पार्टीले दिपावली सहितको कार्यक्रम गर्ने भएको छ भने सत्तादलमै रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले भने कालो दिवस मनाउने उदघोषण गरिसकेको छ । राजपाले देशव्यापी रुपमा असोज ३ गते विरोध प्रदर्शनको निर्णय गरेको हो ।
गत वर्ष तटस्थ बसेका प्रदेश सरकारले यस वर्ष भने तीन दिवसीय कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइने भएको छ । मँगलबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकबाट संविधान दिवसमै दिपावली सहित तीन दिवसीय कार्यक्रमको आयोजना गरिने भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाए अनुसार संविधान दिवसको लागि त्रिदिवसीय कार्यक्रम तय गरिएको हो ।
पहिलो दिन सचेतनामूलक कार्यक्रम अन्तर्गत डेंगु रोगबाट बच्ने तथा लागूऔषध विरुद्धको सार्वजनिक हितको कार्यक्रम गरिने भएको छ । त्रिदिवसीय कार्यक्रमकै दौरान दोस्रो दिन अर्थात असोज ३ गते संविधान दिवसकै दिन मातहतका विभिन्न कार्यालयमा दिपावली गर्ने कार्यक्रम तय गरिएको छ भने असोज ४ गते अन्तिम दिन सरसफाई कार्यक्रम र हरित प्रदेश कार्यक्रम अन्तर्गत वृक्षारोपणको कार्यक्रम आयोजना गरिने भएको छ । हालाकी, सरसफाई र वृक्षारोपणको स्थल भने अझ तय गरिनसकेको हो ।
संविधान दिवसमा सार्वजनिक विदा समेत घोषणा गरेको केन्द्रीय सरकारले प्रदेश नं. २ मा भने बेग्लै लीला देखिएको छ । समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधान, स्वास्थ्य तथा जनसँख्या मन्त्री हुँदा पनि गत वर्ष उनकै पार्टीकी रेणु यादवले भने संविधान दिवसमा कालो दिवस मनाएकी थिइन । यसपाली भने समाजवादी पार्टीगत हैसियतले समेत दिपावली मनाउने भएपछि राजपाले कालो दिवस मनाइने भएको छ ।
सिँगो संविधान नै मान्य नभएको कुरालाई अस्विकार गर्दै संविधानको केही बुंदामा मात्र असन्तुष्टि रहेको बताइएको छ । जनकपुरका युवा संगठनहरुले समेत असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउँदै आएको छ । गत वर्ष डा. सिके राउत नेतृत्वको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले समेत कालो दिवस भन्दै हजारौ हजार मास जनकपुरमा ओरालेका थिए । यसपाली राजनीतिक दलको रुपमा जनमत पार्टीमा दर्ता भएपछि संविधान दिवसमा कस्तो कार्यक्रम राख्ने भनेर अन्यौल छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…