प्रदेश २ दशबाह्र वर्षपछि जनताले चाहेको जस्तो प्रदेश बन्छ : मुख्यमन्त्री राउत
समृद्धिको सपना पूरा गर्न बाहिर नारा लगाएर मात्र नहुने भन्दै हृदय र भित्रि आत्मासँग आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनको कथन थियो ।

२०७६ भदौ १५ आइतबार, बेलुकी ७:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असयोगका कारण सोचे जस्तो काम गर्न नसकेको बताएका छन् ।
प्रदेश सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत साईकल वितरण गर्न सिरहा आएका मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण प्रदेशमा लक्ष्य अनुरुप काम गर्न नसकेको बताएका हुन् ।
सिरहाको मिर्चैयास्थित मोहन उमाविको प्रांगनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले विभिन्न काम तथा अभियानको थालनी गरेपनि संघीय सरकारको हस्तक्षेप र असहयोगले गर्दा कामलाई गति दिन नसकेको गुनासो गरे ।
संघीय सरकारले प्रदेश २ सरकारको काम प्रभावित पार्न एकवर्षमै चार–चार वटा सचिव परिवर्तन गरेको र त्यसकारण चाहेर पनि जनताको अपेक्षा अनुरुप काम हुन नसकेको सुनाए । मुख्यमन्त्री राउतले केन्द्रीय सरकारबाट संघीयता मास्ने काम भइरहेको आरोपसमेत लगाएका छन् ।
भर्खर जन्मेको बच्चालाई आमाबाबुले बढी स्याहार गर्नुपर्नेमा कसरी असफल बनाउने भन्नेमा केन्द्र सरकार लागेको उनको आरोप छ । मुख्यमन्त्री राउतले विभिन्न असहयोगका वावजुद प्रदेश सरकार आफ्नै सपना बोकेर अघि बढिरहेको बताए । दश–बाह्र वर्षपछि प्रदेश २ को स्वरुप फेरिने र जनताले चाहेको जस्तो प्रदेश बन्ने उनले दावी गरे ।
समृद्ध देश र प्रदेशको परिकल्पना पूरा गर्न तीनै तहको सरकारबीच सहकार्य, समन्वय र तालमेलको आवश्यकता रहेको उनले औल्याए । समृद्धिको सपना पूरा गर्न बाहिर नारा लगाएर मात्र नहुने भन्दै हृदय र भित्रि आत्मासँग आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनको कथन थियो ।
मुख्यमन्त्री राउतले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत एक आर्थिक वर्षमा ४–५ हजार साईकल वितरण गर्ने लक्ष्य लिएकोमा झण्डै १४ हजार जति साईकल बाँडेको जनाए । समाजिक रुपान्तरणको लागि नारी सशक्तिकरण आवश्यक रहेकाले यसलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए ।
प्रदेश २ सरकारको मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सिरहाका विभिन्न पाँच वटा विद्यालयमा एकैदिन चारसय ६२ वटा साईकल वितरण गरिएको छ । मिर्चैयास्थित मोहन उमाविमा १ सय १३, जनता बनवाली बर्छवामा १ सय १२, लहानस्थित लक्षमण ललिता माविमा १ सय ३, राजमावि छजनामा ५७ र मिर्चैया नगरपालिका वडा ७ स्थित बाजुमावि फूलवरियामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत झण्डै ४ सय ६२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।
मिर्चैयास्थित मोहन उमाविमा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सांसद दिलिप साह, मिर्चैयाकी उपमेयर जिवछी देवी साह, विद्यालयका शिक्षक, राजनीतिकर्मी लगायतको उल्लेख्य सहभागिता थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…