प्रदेश २ का प्रहरी प्रमुख कार्की प्रहरी संगठनको छवि सुधार्न एक्सनमा : यतिधेरै माथि कारवाही
प्रहरी प्रतिको गुम्दो विश्वासलाई सुधार्न लागिपरेका डीआईजी कार्कीले प्रहरीको बर्दी लगाएर संगठनको नीतिविपरित कामगर्ने जो सुकैलाई कारबाही हुने चेतावनी दिए ।

२०७६ भदौ ११ बुधबार, बिहान ९:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले प्रहरी संगठन सुधार्न कम्मर कसेर लागेको देखिएको छ ।
प्रदेश प्रहरी कार्यालयले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो एक महिने उपलब्धि सार्वजनिक गर्दै डीआईजी कार्कीले आचरणविपरित काम गर्ने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रहरी प्रतिको गुम्दो विश्वासलाई सुधार्न लागिपरेका डीआईजी कार्कीले प्रहरीको बर्दी लगाएर संगठनको नीतिविपरित कामगर्ने जो सुकैलाई कारबाही हुने चेतावनी दिए । जनकपुरका व्यवसायीहरुले प्रदेश प्रहरीको घुमुवा प्रहरीले पैसा मागेर आतंक मचाइरहेको आरोप लगाएको दुई दिन नबित्दै डीआईजी कार्कीले यस्तो बताएका हुन् ।
आचरणविपरित कामगर्ने ३ सय ४७ जना प्रहरीमाथि गत आर्थिक वर्षमा प्रहरी विभागीय कारबाहीमा परेको उदाहरण दिँदै कार्कीले प्रहरी संगठनभित्र रहेका कमीकमजोरी सुधार गरी आमनागरिकलाई शान्ति, सुरक्षा दिने काम अगाडि बढिरहेको बताए ।
प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको सञ्चारकर्मीहरुको जिज्ञासामा उनले प्रहरी संगठनको सुधार भइरहेको जिकिर गरे ।
डीआईजी कार्कीले प्रदेश २ मा तस्करी प्रमुख चुनौतीको रुपमा देखिएको उल्लेख गरे । प्रदेशको आठै जिल्ला भारतीय सीमासँग जोडिएकोले तस्करी नियन्त्रण प्रमुख चुनौती बनेको उनको भनाइ छ । गत वर्ष १८ करोड ६४ लाख मुल्य बराबरको सामानसहित २ सय ८५ जनालाई पक्राउ गरिएको तथ्यांक उनले प्रस्तुत गरे ।
भारतीय सीमाबाट लागुऔषध, खाद्यान्न, सुनचाँदी, लत्ताकपडालगायतका सामग्री ओसारपसार हुनेगरेको बताउँदै उनले यसलाई रोक्न आफूहरु योजनाबद्ध रुपमा अगाडि बढिरहेको उल्लेख गरे । तस्करी रोक्न यसअघि पहल भएपनि पूर्णरुपमा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।
लागुऔषधको ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा अधिकारीसँग पनि छलफल र सहकार्यका प्रयास भइरहेको डीआईजी कार्कीले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…