टीकापुर थारु सम्मेलन : थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन, आन्दोलन उद्घोष हुँदै
नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गर्न लागेको हो ।

२०७६ भदौ ९ सोमबार, बिहान ११:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, टीकापुर । टीकापुरमा आयोजित तीन दिने सम्मेलनले थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ । आइतबार सम्मन्न भेलाले लक्ष्मण थारुको संयोजकत्वमा ७५ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो ।
मोर्चामा प्रवक्ताका रुपमा मिनराज चौधरी र महासचिवमा तुल्सी थारुलाई राखिएको छ । आजै पत्रकार सम्मेलनमार्फत् १५ बुँदे टीकापुर घोषणापत्र सार्वजनिक गरिँदैछ । यो मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गर्दैछ ।
नयाँ संविधानका केही धारा, उपधारा संशोधन हुनुपर्ने, टीकापुर घटनाका राजवन्दीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने, थरुहट स्वायत्त प्रदेश हुनुपर्ने, संविधानले ग्यारेन्टी गरेको समानुपातिक समावेशी कार्यन्वय गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन घोषणा गर्न लागेको हो ।
राष्ट्रिय सम्मेलनका संयोजक मिनराज चौधरीले १६ पृष्ठको आवधारणा प्रस्तुत गर्दै थरुहट आन्दोलनको प्रस्ताव गरेका थिए । देशभरिबाट आएका प्रतिनिधिहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए । तर, आन्दोलनको स्वरुप कस्तो रहनेबारे सबैले प्रश्न गरेका थिए ।
उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि थारुहरुलाई विद्रोहबाटै अधिकार पाउने भएकाले विद्रोह नरोक्न आग्रह गरेका थिए । उनले उक्त विद्रोहमा आफ्नो र आफ्नो पार्टीको सहभागितासमेत रहने बताएका थिए ।
त्यस्तै, लक्ष्मण थारुले सबै पक्षलाई मिलाएर अगाडि बढ्ने जानकारी दिए । ‘यो आन्दोलन मेरो ब्यक्तिगत आन्दोलन होइन । हामी थारुको अधिकारका निम्ति आन्दोलन उद्घोष गर्दैछौं । यो आन्दोलनमा सबै पक्षलाई मिलाएर लैजनाले दायित्व हामीमाथि आइपरेको छ । पक्कै पनि साथीहरु निस्वार्थरुपमा यो आन्दोलनमा सहभागी बन्नुहुनेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…