प्रदेश २ सरकारको क्याविनेट बैठक सागरनाथ वनमा : के–के भयो निर्णय ?
सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले मुद्दा दायर गरेको अवस्थामा आफ्नो मन्त्री परिषद्को बैठक वनको कार्यालयमै गरेको हो ।

२०७६ भदौ ६ शुक्रबार, दिउँसो ४:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारको क्याविनेट बैठक आज महोत्तरीस्थित सागरनाथ वन विकास परियोजनाको कार्यालयमा भएको छ ।
वन र चुरेको संरक्षण प्रदेश सरकारको प्राथमिकतामा रहेको सन्देश दिने उद्देश्यका साथ मन्त्री परिषद्को बैठक सागरनाथ वनमै गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जनाएका छन् ।
मन्त्री परिषद्को उक्त बैठकले प्रदेशको आठ वटै जिल्लामा १ सय ९५ हेक्टरमा वृक्षा रोपण गर्ने, सागरनाथ लगायतका प्रदेश भित्रका वनहरुको संरक्षण सम्बद्र्धन गर्ने, निगमको नाउमा संघीय सरकारले वन फडानी गर्न गरिरहेको प्रपंच विरुद्ध कडारुपमा प्रस्तुत हुने, चुरे संरक्षणका लागि अहिले भैरहेको अनियन्त्रित उत्खननमा तत्काल रोक लगाउने, गैरकानूनी बसोवासलाई नियन्त्रण गर्ने जस्ता निर्णयहरु गरेको छ ।
यस्तै, मन्त्री परिषद्ले प्रदेशका निजामति कर्मचारीहरुलाई प्रोत्साहित गर्न आन्तरिक पर्यटन निर्देशिकालाई समेत स्वीकृति प्रदान गरेको छ । मन्त्री परिषदको वैठकले विरगंजमा प्राविधिक विश्वविद्यालयको स्थापना सम्बन्धि विधेयकलाई सैद्धान्तिक सहमति दिनुका साथै संघीय सरकारले प्रदेश नं. २ मा अनियन्त्रित तवरले पेट्रोल पम्प र ग्यास डिपोको लाइसेन्स बाडी रहेको हुँदा निर्देशिका तयार नहुञ्जेलसम्म लाइसेन्स वितरणको कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
सागरनाथ वनको स्वामित्वको विषयमा संघीय सरकार विरुद्ध प्रदेश सरकारले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको अवस्थामा प्रदेश सरकारले आफ्नो मन्त्री परिषद्को बैठक सागरनाथ वनको कार्यालयमै गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…