वन फडानी गर्ने संघीय सरकारको षड्यन्त्र सफल हुन दिन्नौ : मुख्यमन्त्री राउत
मुख्यमन्त्री राउतले आजकै मितिदेखि वन जोगाउने कार्यमा सक्रिय हुन वन प्रशासनलाई निर्देशन समेत दिए ।

२०७६ भदौ ६ शुक्रबार, दिउँसो ३:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने बताएका छन् ।
उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आज (शुक्रबार) आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागरनाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर वन फडानी गर्ने षड्यन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताएका हुन् ।
उनले वन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफूहरु वन र चुरे जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताएका छन् । वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै बन फडानी गर्ने कार्य भइरहेको भन्दै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले आजकै मितिदेखि वन जोगाउने कार्यमा सक्रिय हुन वन प्रशासनलाई निर्देशन समेत दिए । प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा आज २० हेक्टरमा ३० हजार वृक्षारोपण गरेको छ ।
वृक्षारोपण कार्यक्रममा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल, राज्यमन्त्री डा. डिम्पल झा, अभिराम शर्मा, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदी लगायतका सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…