आरक्षणकै लागि आन्दोलन गरेर उदाएका मधेशवादी दलहरु अहिले चुप भए : सिके लाल
अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशवादी दलले षड्यन्त्रपूर्वक ढंगले आरक्षण आन्दोलनलाई स्वीकार नगरेको टिप्पणी गरे ।

२०७६ साउन १२ आइतबार, दिउँसो १:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । राजनीतिक विश्लेषक सिके लालले मधेश केन्द्रीत दलहरु आरक्षण बचाउ आन्दोलनका लागि गम्भीर नरहेको आरोप लगाएका छन् ।
लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरुद्धमा शुरु भएको आरक्षण बचाऔं आनदोलनको कार्यक्रममा शनिवार बोल्दै लालले मधेशवादी दलहरुले विगतमा आरक्षणकै लागि आन्दोलन गरेपनि अहिले यसको बचाउका लागि चाँसो नदिएको आरोप लगाएका हुन् ।
सत्ताधारी राजनीतिक दलमा पनि आदिवासी, मधेशी, दलितहरु भएपनि आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले उनीहरु नबोलेको विश्लेषक लालले दावी गरे ।
उनले भने, ‘मधेसी समूदायकै सामान्य प्रशासन मन्त्री छन् । तर, तिनैलाई प्रयोग गरेर एकल जातीय प्रकारको विज्ञापन गर्न लगाइएको छ ।’
कार्यपालिकाले लोकसेवा आयोगलाई हतियार बनाएको आरोप लगाउँदै विश्लेषक लालले आयोगले प्रकाशन गरेको विज्ञापनले मधेशका एकपुस्ता नराम्ररी प्रभावित भएको टिप्पणी गरेका छन् । उनले भने, ‘पिछडिएका समुदायलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, स्थिति गम्भीर छ ।’ तर यसको बारेमा कोही पनि खुलेर नबोलेको उनले आरोप लगाए ।
प्रतिपक्षी दल काँग्रेस पनि आरक्षणको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा स्वीकार नगरेको उनले गुनासो गरे । मधेशवादी दलले आ–आफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएकोमा पनि उनले आक्रोश व्यक्त गरे । उनले भने, ‘राजनीतिक मधेशमा गर्ने अनि के जाती समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नाम राखेका छन्, मधेशी दलले पनि यसलाई राजनीतिक मुद्दा बनाएका छैनन् ।’
अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशवादी दलले षड्यन्त्रपूर्वक ढंगले आरक्षण आन्दोलनलाई स्वीकार नगरेको टिप्पणी गरे । उनले भने, ‘मधेशमा मधेशी जनता मरिरहेको बेला ती नेताहरु सिंहदरवारमा कमल थापासँग बसेर चिया बिस्कुट खाँदै वार्ता गरिरहेका थिए, आज आरक्षण आन्दोलनमा पनि त्यस्तै व्यवहार देखाइएको छ ।’
विश्लेषक साहले मधेशवादी दलको भरमा यो आन्दोलन अगाडि बढ्न नसक्ने बताउँदै उनले यसका लागि नयाँ ढंगको आन्दोलन गर्नुपर्ने सुझाव दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…