बक्रईदको दिन परेको त्रिविको परीक्षा सार्न मुस्लिम आयोगमा ज्ञापनपत्र
आयोगका अध्यक्ष शमीम मिया अन्सारीले आफूले तत्कालै यसबारे पहल थाल्ने आश्वासन दिए ।
२०७६ असार १ आइतबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको दोस्रो वर्षको परीक्षा इस्लाम धर्मावलम्बीहरूको महानपर्व ईदुल अजहाको दिन राखेको प्रति असन्तुष्टि जनाउदै 'कन्फिडेन्स नेपाल' नामक संस्थाले मुस्लिम आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।
ईस्लाम धर्मावलम्बीहरुको आस्थाको पर्व ईदुल अजहा यही आउदो साउन २६,२७ र २८ गते ३ दिनसम्म धूमधामका साथ मनाइँदैछ । विश्वविद्यालयले सोही दिनमा नै स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र विज्ञान संकायको दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बक्रईदको दिन परेको परीक्षा सारेर हर्षोल्लासका साथ पर्व मनाउने वातावरणको सृजना गरिदिन मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अंसारीलाई बुझाइएको ज्ञापनपत्र मार्फत त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा, 'सांस्कृतिक र भौगोलिक रुपमा विविधता रहेको धर्मनिष्पेक्ष राष्ट्र नेपालको संवैधानिक अंगको रुपमा रहेको मुस्लिम आयोग समग्र मुस्लिम जनसमुदायको धार्मिक सांस्कृतिक पहिचानको संरक्षण सम्वर्धन गर्ने निकाय हो । तसर्थ, ईदुल अजहा बक्रईदको दिन परेको त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोस्रो वर्षको परीक्षा सार्न सम्बन्धित निकायसंग पहल गरिदिन हुन अनुरोध छ ।' उल्लेख गरिएको छ ।
मुस्लिम आयोगका अध्यक्ष शमीम मिया अन्सारीले ज्ञापनपत्र बुझ्दै आफूले तत्कालै यसबारे पहल थाल्ने र त्रिभुवन विश्वविद्यालयलाई परीक्षा सार्न लगाउने अपील गर्ने आश्वासन दिए ।
कन्फिडेन्स नेपालका संयोजक रहेका शमशाद आदिलको विद्यार्थी संस्थाद्वारा बुझाइएको ज्ञापनपत्रमा स्नातक दोस्रो वर्षको परीक्षा साउन २६,२७,२८ गते संचालन हुने परीक्षा सारेर अर्को दिन राख्न माग गरिएको छ ।
आयोगलाई ज्ञापनपत्र बुझाउनुको साथै संघीय सांसदका सदस्यहरूलाई पनि ध्यानाकर्षित गराउने कार्य जारी रहेको कन्फिडेन्स नेपालका सदस्य ईन्जिनियर सरवर आलम अन्सारीले जनाए ।
कन्फिडेन्स नेपाल समाजिक न्याय, भेदभावविरुद्ध लगायत शैक्षिक क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
आभाष गुरु, काठमाडौं
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…