यस कारणले मधेश दिनानुदिन गरिब हुँदै गएको छ : डा. सिके राउत
वैदेशिक रोजगारीमा गएका छन् र तराई मधेश उर्वर भूमिमा उत्पादन पनि निकै भईरहेको छ तर पनि गरिब कसरी ?

२०७६ बैशाख १८ बुधबार, बेलुकी ५:१५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेश दिनानुदिन गरिब हुँदै गएको जीकिर गरेका छन् ।
बुधबार दिउँसो काठमान्डौंको त्रिभुवन विश्वविद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा डा. राउतले १० वर्षकै अन्तरालमा भनेपनि मधेश दिनानुदिन गरिब हुँदै गएको बताएका छन् । त्रिभुवन विश्व विद्यालयमा जनतम विद्यार्थी संघले आयोजना गरेको -"सम्यक परिवर्तनमा युवा नेतृत्व सम्भावना र भुमिका" विषयक अन्तरक्रिया कार्यक्रमको दौरान उनले २०५८ सालको स्थिति भन्दा पनि २०६८ सालको स्थितिमा धेरै फरक देखिएको जिकीर गरे ।
तराई मधेशको उत्पादनको आयलाई सदुपयोग गर्न नसकेको कारण तराई मधेश अहिले गरिबीमा मारमा परेको बताए । उनले भने - "तराई मधेशबाट सबैभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा गएका छन् र तराई मधेश उर्वर भूमिमा उत्पादन पनि निकै भईरहेको छ तर पनि गरिब कसरी ?" उत्पादनको आयलाई सही सदुपयोग गर्न नसकेको कारण तराई मधेश दिनानुदिन गरिबीको रेखातर्फ धकेलिँदै गएको बताए ।
बैदेशिक रोजगारीबाट आएको रेमिट्यान्स र उत्पादनबाट आएको आयलाई उत्पादनमा खर्च नगर्ने गरेको प्रवृतिले गर्दा तराई मधेश गरिब हुनु स्वभाविक रहेको बताए । डा. राउतले वैदेशिक रेमिटयान्स र कृषिजन्य उत्पादन सहित अन्य उत्पादनबाट भएको आयलाई उत्पादनमै खर्च नगरी कार, घर, घडेरी, डिजल, पेट्रोल सहित करमा बढी खर्च गर्ने बानीका कारण पनि मधेश गरिब हुँदै गएको दाबी गरे ।
उनले भने, - "हामी यतिको पैसा आईएमईबाट झिक्छौँ, कृषिजन्य बस्तुको उत्पादनबाट लाखौँ कमाउँछौँ तर त्यो आम्दानीलाई हामी खर्च कहाँ गर्दैछौँ त ? त्यो आम्दानीलाई हामी पुन उत्पादनमा खर्च गर्ने बानी बसाल्यौ भने पक्कै पनि रोजगारी सृजना हुन्छ । दुई चार जनालाई रोजागरी स्थानीय स्तरमै दिन सकिन्छ । तर, त्यस्तो गरिदैन, वैदेशिक आय र घरको आयलाई पनि अन्य ठाउँमा प्रयोग गरिएको कारण गरिबी बढेको देखिएको छ ।"
"आम्दानी र उत्पादनबाट रोजगारमूलक कार्यमा लगानी गर्न सके प्रदेश र सिँगो तराई मधेश सहित देशकै आर्थिक अवस्था बलियो हुने दाबी गर्दै उनले भोग विलासीताकै कारण पनि समाज विघटनतिर गईहरेको जीकिर गरे । हामीसँग भएको उत्पादनलाई जबसम्म निर्यात गरिदैन तबसम्म परिवर्तन हुँदैन, खाली किनेर लिने बानीलाई न्यून गर्न सके र आफ्ना उत्पादनलाई बाहिर पठाउन सके समाज सबल बन्ने पक्का छ ।"- उनले भने ।
"राष्ट्रको कुल आयमा कृषि क्षेत्रबा मात्र २७ प्रतिशत भूमिका रहेको बताउँदै उनले कुल ग्राहस्थ उत्पादनले १५ प्रतिशत जहाँ रोजगारी दिने सम्भावना थियो त्यता मात्र ९ प्रतिशतसम्म रोजगारी दिएको बताए । उनले भने, तराई मधेशको धान कोरिया, मलेसिया लगायत गल्फ देशहरुमा निर्यात हुन्थ्यो तर अहिले करोडौँको धान हामी नेपालमा किनेर ल्याउँछौँ र तैपनि हामी कृषि प्रधान देश भन्छौँ ?" - उनले प्रश्न गरे ।
भारतको महात्मा गाँधीलाई उदाहरण दिँदै उनले अँग्रेजको समाराज्य हटाउन र भारतको अर्थतन्त्र बलियो बनाउन चर्खा आन्दोलनको सूरुवात गरेको सुनाए । उनले भने, -" त्यतिबेला भारतको अर्थतन्त्र कमजोर थियो, अँग्रेजहरुले उत्पादन गरेको समान मात्र प्रयोग गरिन्थ्यो, गाँधीले चर्खा विचारको आन्दोलन चलाएर गाउँ गाउँमा खादी कपडाको प्रचार गरे ,अन्त्यसम्म अँग्रेजको उत्पादनलाई लात्त हान्दै स्वदेशी उत्पादनलाई जनताले महत्व दिनथालेपछि भारतको अर्थतन्त्र एकदमै बलियो भयो, यदि त्यही नितीलाई हामीले पनि अवलम्बन गर्न सकियौ भने हरेक गाउँमै रोजगारी सृजना हुन्छ र कोई बेरोजगार बस्दैन ।"
तराई मधेशको अर्थतन्त्र सहित देशकै अर्थतन्त्र बलियो बनाउको लागि आफ्नो उत्पादनलाई प्राथमिकता दिँदै आयातलाई न्यून गर्नुको अर्को विकल्प नरहेको जीकिर गरे । दिनानुदिन बढदै गएको गरिबी र बेरोजगारीलाई न्यून गर्न स्थानीय स्तरमै रोजगारी सृजना गर्नुपर्ने हुन्छ जो की मात्र स्थानीय उत्पादनलाई सही तरिकाले सदुपयोग गर्न सके मात्र सम्भव हुने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा जनतम विद्यार्थी संघका नेताहरुले आ आफ्नो मनतव्य राखेका थिए भने सो कार्यक्रममा तराई मधेशका विद्यार्थीहरुको मोटो सहभागिता रहेको थियो ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…