रिनाको पोष्टमार्टम रिपोर्ट : बलात्कार गरी हत्या होईन, यसरी भयो मृत्यू !
जसले गर्दा यो घटना अतिरञ्जित हुन पुगेर सामाजिक सद्भाव खलबलिएर शान्ति सुरक्षामा गम्भीर असर पुगेको प्रहरीको निष्कर्ष छ ।

२०७६ बैशाख १२ बिहीबार, बेलुकी ७:४८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, मोरँग । आफ्नै डेराअघि निर्वस्त्र मृत फेला परेकी २९ बर्षीय रिना बस्नेतको शवको पोष्टमार्टम रिपोर्ट आएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विज्ञले गरेको पोष्टमार्टम रिपोर्ट जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको छ । उक्त रिपोर्टमा रिनाको मृत्युको कारण माथिबाट खसेर लाग्ने चोटले भएको उल्लेख गरिएको छ । गत शनिबार बिहान आफ्नै डेराअघि रिना निर्वस्त्र मृत अवस्थामा फेला परेकी थिइन् ।
कतिपय स्थानीयबासीले उनको बलात्कार गरी हत्या गरेको हुनसक्ने आशंका पनि गरेका थिए । तर, पोष्टमार्टम रिपोर्टले भने उनको मृत्युको कारण अग्लो स्थानबाट खसेर बज्रिदा लाग्ने चोटले भएको खुलाएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।
‘माथिबाट झरेर टाउकोमा, छातीभित्रको अंगहरुमा गम्भीर चोटको कारणले मृत्यु भएको रिपोर्ट आएको छ,’डिएसपी श्रेष्ठले भने,‘बलात्कार भएको वा उनी गर्भवती भएको भन्ने आशंकामा पनि त्यस्तो केही छैन ।’ उनले भने ।
केही दिनअघि उनको हत्या भएको दाबी गर्दै पथरी उद्योग वाणिज्य संघको पहलमा संघर्ष समिति गठन भएको थियो । उनीहरुले प्रहरीले गम्भीर भएर अनुसन्धान नगरेको आरोप लगाउदै आन्दोलन चर्काए । तर, प्रहरीले भने विज्ञ टोली ल्याएर नै घटनाको सबै पक्षबाट सुक्ष्म अनुसन्धान गरिरहेको बताउदै आएको थियो ।
पथरीको अवस्था बिग्रदै गएपछि जिल्लाबाट डिएसपी नवराज ढुंगाना इलाका प्रहरी कार्यालय पथरीको कमाण्ड सम्हालन आएका छन् । अहिले पनि उनीसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
स्थानीयबासीले कतै बलात्कार गरेर हत्या गरी शव डेरा अघि ल्याएर फालेको अनुमान गरेका थिए । तर, घटनाकै दिन प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतकको कपडा आफ्नै कोठाभित्र खोलेर राखेको खुलिसकेको थियो । साथै, राती करिब ११ बजेतिर छोरासहित नै कोठामा आएर सुतेको पनि खुलेकोले कसैले बाहिर बलात्कार गरेर ल्याएको वा हत्या गरेर फालेको भन्ने प्रहरीले कुनै क्लु फेला पार्न सकेको थिएन ।
छोराकै वयानअनुसार पनि आमाले मदिरा पिएको र कोठामा पनि वियर ल्याएर आएको खुलेको थियो । तर,स्थानीयबासीले भने उनको हत्या भएको भन्दै आन्दोलन थालेका थिए । मृतकको प्रेमी भनिएका कमल नेपाललाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ ।
मिडियाबाट अफवाह फैलाउने काम भयो
रिना हत्याको बिषयमा शुरुवातदेखि नै प्रहरीले सुक्ष्मढंगले अध्ययन गरिरहेको थियो । तर, ३ तलाबाट आफै खसेर मृत्यु भएको क्लुबाहेक मृतकमाथि हत्या भएको भन्ने संकेत वा क्लु भेटिरहेको थिएन ।
विभिन्न मिडियामा भने अनेक समाचारहरु आइरहेका थिए । प्रेम सम्बन्धदेखि मास्क लगाएर रिक्सामा केही बोराले बेरेर लैजादै गरेको, मृतकको खुट्टामा हिलो माटो कसरी आयो ? जस्ता कुराहरु निरन्तर प्रकाशन गरे भने युट्युबरहरुले पनि सनसनी र भाइरल बनाए । जसले गर्दा यो घटना अतिरञ्जित हुन पुगेर सामाजिक सद्भाव खलबलिएर शान्ति सुरक्षामा गम्भीर असर पुगेको प्रहरीको निष्कर्ष छ ।
‘प्रहरीले सुक्ष्मढंगले घटनालाई हेरिरहेको थियो । मृत्यु, हत्या वा आत्महत्या केही पनि भनेको थिएन,’मोरङ प्रहरी प्रवक्ता श्रेष्ठले भने,‘अतिरञ्जित तरिकाले पोष्ट र भाइरल बनाएर २, ४ लाइक त बढ्ला तर यसले जनताले पाउनुपर्ने सत्य,तथ्य सुचनाबाट बञ्चित हुन्छ, सामाजिक सद्भाव, शान्ति सुरक्षामा पनि खलल पुग्छ ।’
डिएसपी श्रेष्ठले त्यस्ता पोष्ट र मिडियाहरुलाई पनि सुष्मरुपमा नियमन गरिरहेको बताए । सामाजिक सद्भावमा खलल पुगेको बिषयमा दोषी देखिए कारबाहीको दायरामा पनि ल्याउने उनले बताए । ‘यस्तो गतिविधिले त सञ्चार जगतलाई नै राम्रो हुदैन, अतिरञ्जित गर्दा लाइक त बढ्ला तर विश्वासनीयता विस्तारै हराउछ,’उनले भने,‘त्यस बिषयमा पनि सुक्ष्मढंगले बुझ्दैछौ, दोषी देखिए कानुनी कारबाही पनि गछौ ।’
===========================
समाचार साभार :कपुरीसमाचार
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…