'सांसद, मन्त्री बन्न होईन, मधेशी जनताका लागि राजनीतिमा आएको हुँ': डा. सिके राउत
डा. राउतले मधेशको नाममा दलाली गर्नेहरुलाई मधेशी जनताले नै परास्त गर्ने बताउँदै मधेशमा अब जनताको राज कायम हुने बताए ।

२०७५ चैत ३० शनिबार, राति ८:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू कसैको अगाडि पनि नझुकेको र पछि नहटेको प्रष्ट्याएका छन् । शनिवार सिरहाको मिर्चैयामा जनमत पार्टीद्धारा आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै उनले सरकारसँग गरेको सम्झौता स्वराज आन्दोलनको ठूलो उपलब्धि भएको बताएका छन् ।
डा. राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौता साधारण र अचानक नभएको बताउँदै अथक र अहोरात्रको लामो प्रयास पश्चात् मात्र सम्भव भएको खुलाए । उनले ११ बुँदे सहमतिबाट मधेशी जनताको हकमा ठूलो सफलता प्राप्त गरेको दावी गरेका छन् ।
स्वराज आन्दोलनलाई मूर्तरुप दिन सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आएपछि मधेशको नाममा भजाएर खानेहरुको पसल बन्द हुने भन्दै उनीहरुले सहमतिबारे भ्रम फिजाएको आरोप लगाए ।

डा. राउतले आफूलाई सांसद, मन्त्री बन्ने कुनै चाहना नभएको बताउँदै मधेशी जनतालाई सधैं ठगेर प्रयोग मात्र गरिने फैलिएको गन्दगीलाई सफा गर्न राजनीतिमा आएको जनाए । उनले भने, ‘म सांसद, मन्त्री बन्न राजनीतिमा आएको हाईन, राजनीतिमा फैलिएको गन्दगीलाई सफा गर्न आएको हुँ, मधेशको नाम उच्च गर्न राजनीतिमा आएको हुँ ।’
मधेशको लागि कुनै नेता जेल नबसेको र आफू मधेशकै लागि लामो समय हिरासतमा बसेको भन्दै उनले मधेशको नाममा गोली चलेपनि पहिलो गोली आफू नै खान तयार रहेको बताए । डा. राउतले आफू मधेश र मधेशीको लागि कहिले एक कदम पनि पछि नहटेको र नहट्ने समेत प्रतिवद्धता गरे ।
सरकारसँग सहमति गरेपछि स्वाराज आन्दोलनलाई अब खुलेर अगाडि बढाउन मिल्ने र त्यसका लागि जनताको साथको अपेक्षा गरे । उनले स्वराज कायम गर्नको लागि जनता विना हुन नसक्ने भन्दै जनमतका लागि सबैलाई आह्वान गरे । मधेशी जनताको चाहना र जनमतकै आधारमा आफू अघि बढ्ने उनले बताए ।
डा. राउतले मधेशको नाममा दलाली गर्नेहरुलाई मधेशी जनताले नै परास्त गर्ने बताउँदै मधेशमा अब जनताको राज कायम हुने र त्यो जनताको जनमतबाट ‘जनमत पार्टी’ले गर्ने बताए ।
जनमत पार्टीले स्वतन्त्र मधेश गठबन्धनको लक्ष्य अनुसार सबभन्दा पहिले १० लाख मधेशीलाई रोजगारी दिलाउने प्रतिवद्धता समेत उनले गरे । उनले मधेशमा बाहिरबाट आएर जग्गा कब्जा गर्ने प्रवृत्तिको जनमत पार्टीले अन्त्य गर्ने बताउँदै मधेशको मूभीमा मधेशी भूमिपुत्रकै अधिकार हुने ठोकुवा गरे ।

जनमत पार्टीका केन्द्रिय नेता सुदिप राज कुशवाहाले ११ बुँदे सहमतिबारे प्रष्ट्याउँदै मधेशी जनतालाई झुक्याएर, ठगेर सधैं आफ्नो स्वार्थमा विलिन रहेका नेताहरुलाई सरकारसँगको सम्झौताबाट बढी तखलिफ पुगेको र उनीहरुको पसल अब बन्द हुने भएपछि विभिन्न भ्रमहरु फिजाएको प्रष्ट्याए ।
जनमत पार्टी गठनपछि पहिलो पटक भएको जनसभामा हजारौं–हजारको सँख्यामा उनका समर्थकहरु सहभागी थिए । कार्यक्रमलाई सुरक्षा व्यवस्थाको दृष्टिकोणले दुरुस्त बनाउन राउतको आफ्नै सुरक्षागार्ड तथा स्वयँसेवकहरुले सुरक्षा दिएका थिए भने प्रहरीले सुरक्षामा तैनाथ थिए ।
कार्यक्रममा जनमत पार्टीका उल्लेख्य केन्द्रिय नेताहरु सहभागी थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…