सिरहाका सिडिओ पण्डित एक्सनमा : दलित बस्ती बचाउन अख्तियारमा गरे उजुरी
‘न्यूज ब्यूरो’ को समाचार विभिन्न सञ्चार माध्यममा भाईरल बनेपछि प्रजिअ पण्डितले अनुसन्धान थालेका थिए ।

२०७५ चैत १३ बुधबार, बेलुकी ५:२२ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा हड्पिएको सिँगो दलित बस्ती बचाउनको लागि सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डित एक्सनमा आएका छन् ।
मिर्चैया–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीको जग्गा उपर प्रारम्भिक अनुसन्धान सकाएर विस्तृत अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिरहाले अख्तियारमा उजुरी गरेको छ ।
मिर्चैया वडा नं. ९ रमपुरा बस्ने स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी कब्जा गरेको बस्तीको जग्गा उपर थप अनुसन्धान गर्न उक्त जग्गाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिएका हुन् ।
सिडिओ पण्डितले त्यसमा संलग्न वडा अध्यक्ष, जग्गाकारोबारीका साथै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको जनाए ।
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका महरा टोलका सिँगो दलित बस्ती नै भरत यादवले आफ्नो नाममा पास गराएर आफन्तको नाममा पास गरिदिएको खुलासा भएपछि बस्तीमा बसोबास गर्ने दलितहरुले जिप्रकामा उजुरी गरेका थिए ।
उनीहरूले कयौं पुस्तादेखि बसोबास गर्दै आएका बस्तीको जग्गा अरुले नै हड्पेको थाहा पाएलगत्तै विभिन्न सरकारी निकाय गुहारेपनि खासै चाँसो नहुँदा ‘न्यूज ब्यूरो’ अनलाईन पत्रीकाले समाचार प्रकाशित गरेपछि जग्गाको विषय चर्चामा आएको थियो ।
न्यूज ब्यूरोको समाचार विभिन्न सञ्चार माध्यममा भाईरल बनेपछि एक्सनमा आएका प्रजिअ (सिडिओ) पण्डितले उनीहरूसँग अन्याय हुन नदिने आश्वासनसहित जग्गा उपर अनुसन्धान थालेका थिए ।
बसोबास गर्दै आएका दलितहरुले २०२४ सालमा नै जग्गाको पैसा तिरेर जग्गा किनेपनि आजभोलि गर्दागर्दै जग्गा धनीको मृत्यू भएपछि उनीहरूको नाममा जग्गा पास भएको छैन । पछि उनीहरु कानुन सम्बत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले गुपचुप रुपमा किर्ते गरी गत २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराएका थिए ।
जग्गा धनीको करिब ४० वर्षअघि नै मृत्यू भइसकेको भएपनि मात्रै २०७० सालमा सिधै जग्गा धनीको नामबाट कमल भन्ने भरत यादवको नाममा जग्गा पास भएको देखिन्छ । बस्तीका दलितहरुले जग्गा उपर उजुरी गरेपछि उक्त जग्गा भरत यादवले २०७५ जेठ १७ गतेमा आफ्नो फुपूको छोरा रामपरिक्षण यादवको नाम पास गरिदिएका हुन् ।
फुलबरिया १ ‘ङ’ अन्तर्गत कित्ता नम्बर १८ को उक्त ७ कठ्ठा १० धुर जग्गामा १६ बढी घरपरिवार बसोबास गर्दै आएका छन् । सिँगो बस्ती नै कब्जा गरेका कमल यादवले बस्ती खाली गर्न दबाब बनाएपछि बिचल्ली तथा त्रासमा परेका उनीहरू जिल्ला प्रशासन, जिल्ला अदालत, अख्तियार, नगरपालिका लगायतका निकायहरुमा उजुरी गरेका दर्ता गराएका थिए ।
गत फागुन २८ गते ‘जनताको कचहरी’ कार्यक्रम लिएर मिर्चैया ७ फूलवरियामा पुगेका प्रदेश २ का कानुन मन्त्री ज्ञानेन्द्र यादव समक्ष समेत उनीहरूले जग्गा उपर ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रदेश का २ महान्यायाधिवक्ता दिपेन्द्र झा, प्रजिअ पण्डितसमेत सहभागी थिए । उनीहरुले पीडितसँग अन्याय हुन नदिने आश्वासन दिएका थिए ।
यस्तै, प्रजिअ पण्डितले जम्मा पाँचवटा यस्ता जग्गा उपर प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी त्यसमध्ये तीनवटा मिसिल विस्तृत अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र बर्दीवासको कार्यालयमा पठाइएको जानकारी गराए ।
उनले त्यसमा संलग्न दुई वडा अध्यक्ष, पाँच जग्गाकारोबारीका साथै मालपोत र नापी कार्यालयका कर्मचारीविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको जनाए ।
ब्यूरो अपरेशन : यस प्रकरणका अन्य समाचारहरु पनि पढ्नुहोस् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…