निराश हुनुपर्दैन, हामी लक्ष्यप्रति अटल छौं : जनमत पार्टी
पार्टीले परिषद् बैठकबाट जिल्ला कार्यसमिति छनोट पक्रियासमेत अघि बढाएको छ ।

२०७५ चैत ९ शनिबार, राति ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नव गठित ‘जनमत पार्टी’ले मधेशका विभिन्न जिल्लाको परिषद् बैठक सुरु गरेको छ । शनिवार सिरहा, मोरङ, रुपान्देही र बाँके जिल्लाको परिषद् बैठक पार्टीले सम्पन्न गरेको छ ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारसँग भएको ११ बुँदे राजनीतिक सहमतिपछि समर्थकमा पलाएका भ्रमहरुलाई अन्त्य गर्न तथा सम्झौता बारे प्रष्ट्याउन पार्टीले सबै जिल्लाको परिषद् बैठकलाई अघि बढाउने भएको हो । पार्टीले परिषद् बैठकबाट जिल्ला कार्यसमिति छनोट पक्रियासमेत अघि बढाएको छ ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धनको माग सरकारले लोकतान्त्रिक विधिबाट पूरा गर्न सहमत भएपछि सरकारसँग ११ बुँदे राजनीतिक सहमति भएको थियो । सरकारसँग राजनीतिक सहमति गरेर मूलधारको राजनीतिमा अवतण गरेका गठबन्धनका पूर्व सँयोजक डा. सिके राउतको नेतृत्वमा लहानमा राष्ट्रिय परिषद् बैठक बोलाएर जनमत पार्टी गठन गरिएको थियो ।
सरकारसँग भएको ११ बुँदे सम्झौता र पार्टी गठनपछि समर्थकमा पलाएका विभिन्न भ्रमहरु चिर्न गठबन्धनका नेताहरु जनतामाझ दौडाहालाई तीव्रता दिएको छ ।
उनीहरु ‘जनमत दो, आजादी लो, जनमत पार्टी जिन्दावाद, डा. सिके राउत जिन्दावाद’ लगायतका नारासहित खुलेर सक्रियता बढाएका हुन् ।
जनमत पार्टीका अगुवा अरविन्द सहनीले सिरहा जिल्ला बैठक सम्पन्न भएको जानकारी गराउँदै आफ्नो फेसबूक वालमा लेखेका छन्, ‘सिरहा जिल्ला भेला हर्षोल्लास के साथ सम्पन्न हुवा है । डरनेकी, घबरानेकी और निराश होनेकी कोई जरुरत नहीं है, हम लक्ष्यप्रति अटल है ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…