सरकारमा जाने र सांसद बन्ने कुनै सहमति छैन, प्रणमा अडिग छु : डा. सिके राउत
परिषद् बैठकमा आज सांगठनिक संरचनाबारे छलफल भइरहेको बताइएको छ ।

२०७५ चैत ४ सोमबार, दिउँसो १:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको लहानमा जारी स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठकमा गठबन्धनका सँयोजक डा. सिके राउतले नेपाल सरकारसँग गरेको सम्झौतामा आफूले सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी कुनै सहमति नगरेको बताएका छन् ।
नेकपाको सरकारसँग भएको ११ बुँदे सम्झौता पश्चात् पहिलो पटक मधेश आन्दोलनको उदगम स्थल लहानमा डाकिएको गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिँदै डा. राउतले हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
स्वतन्त्र मधेश गठबन्धनका अधिकांश कार्यकर्ताले राउत सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेबारेको अलिखित समझदारी के हो भनी प्रश्न उठाएपछि उनले आइतबार राति १० बजेसम्म कार्यकर्तालाई प्रष्टाएका थिए ।
अन्य पार्टीबाट आउनेका लागि कस्तो व्यवस्था गर्ने भन्नेमा पनि छलफल भइरहेको जनाइएको छ ।
डा. सिके राउतले यस्तो कुनै सहमति सरकारसँग नगरेको र लिएको प्रणमा अडिग रहेको राउतको भनाईलाई उदृत गर्दै एकजना नेताले बताए । उनले राष्ट्रियसभा र सरकारमा जाने फिजाइएको हल्ला निराधार रहेको प्रष्ट पारे । उनले कार्यकर्ताहरुलाई त्यसको पछि नलाग्न आग्रह समेत गरे ।
जारी परिषद् बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिको बुँदागत र शब्द–शब्दमा छलफल भएको उनले जानकारी दिए । सहमतिलाई राउतले सरकारले जनतालाई सार्वभौम मानेको र जनताको अभिमत अनुसार अबको बाटो तय हुने व्याख्या गरेका थिए ।
बैठकमा सहभागी स्रोतका अनुसार राउतले सहमतिलाई जनमत संग्रहका रूपमा भने व्याख्या गरेनन् । जनताको चाहना अनुसार नै अबको बाटो तय हुने राउतको धारणा थियो ।
परिषद् बैठकमा आज सांगठनिक संरचनाबारे छलफल भइरहेको बताइएको छ । अन्य पार्टीबाट आउनेका लागि कस्तो व्यवस्था गर्ने भन्नेमा पनि छलफल भइरहेको जनाइएको छ ।
कार्यकर्ताले अन्य दलबाट केन्द्रीय समितिमा तत्काल कसैलाई पनि स्थान नदिन माग गरेका छन् । कतिपयले भने अन्य पार्टी छाडेर आएमा छाडेकै पद अनुसार मिलान गर्न सकिने धारणा पनि राखेका छन् ।
आईतबारदेखि सुरु भएको गठबन्धनको बैठक आज अबेर रातिसम्म चल्ने जानकारी प्राप्त भएको छ ।
पत्रकार बीपी साहको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…