राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद
सपथ ग्रहण पश्चात् पुनः रेशमलाई कारागार नै लगिएको थियोे ।

२०७५ फागुन २२ बुधबार, दिउँसो २:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सुनाइएको छ । उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको हो ।
जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले उक्त घटनामा संलग्न चौधरीसहित ११ जनालाई जन्मकैद सुनाएको छ भने ३ जनाले सफाइ पाएका छन् । अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन् ।
गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन ।
यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। प्रतिवादीहरूको वतनको अस्पष्टता लगायत विभिन्न कारणले सो घटना ढिलाइ भइरहेको थियो। थरुहट/थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो ।
घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो ।
घटनाको अर्को दिन थारू समुदायलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । कैलाली कारागारमा २४ जना थुनामा रहेका छन् । हाल चौधरी काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।
घटनामा संलग्न अरू भने फरार रहेका छन्। थुनुवा रहेका अभियुक्तमध्ये नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ।
७ भदौ ०७२ को चर्चित टीकापुर आन्दोलन र प्रहरी मारिएका घटनाको योजनाकारका रूपमा प्रचारित रेशम चौधरीको सपथले पनि सरकार विवादमा फस्यो। टीकापुर घटनापछि चौधरी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए। वारेसनामा मार्फत् कैलाली १ मा उम्मेदवारी दिएर जितेका चौधरीले १४ फागुन ०७४ मा आत्मसमर्पण गरेका थिए ।
चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि जेल जीवन बिताइरहेका थिए। यसबीच उनले १८ दिन लामो अनसन पनि बसेका थिए, जसलाई गृहमन्त्री रामबहादुर थापा बादलले तोडाएका थिए ।
उनलाई सपथ खुवाउन उनको दल राजपाले प्रधानमन्त्रीलाई पटकपटक आग्रह गर्दै आएको थियो। अन्तत: सांसदमा निर्वाचित भएको १३ महिनापछि चौधरीले १९ पुस ०७५ मा शपथग्रहण गरेका थिए ।
सपथ ग्रहण पश्चात् पुनः रेशमलाई कारागार नै लगिएको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…