जनकपुरमा चल्यो डोजर : घरधनी उपर हातपात भएपछि जल्यो सडक !
एक्कासी घर उपर डोजर चलेपछि प्रतिरोधमा उत्रेका घरधनीलाई प्रहरी र अमिनले जथाभाबी गालीगलौज गर्दै कुटपिट गरेको आरोप

२०७५ फागुन १७ शुक्रबार, दिउँसो ४:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा सडक विस्तारको क्रममा प्रहरीले घरधनी उपर हातपात गरेको भन्दै स्थानीयहरु उपमहानगरपालिका र नगर प्रहरीविरुद्ध प्रदर्शन गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–५ मा सडक विस्तार भन्दै बिनासूचना एक्कासी घर उपर डोजर चलेपछि प्रतिरोधमा उत्रेका घरधनीलाई नगर प्रहरी र उपमहानगरपालिकाबाट खटेका अमिनले जथाभाबी गालीगलौज गर्दै कुटपिट गरेको उनीहरुको आरोप छ ।
शुक्रबार बिहान करिब साढे ११ बजेतिर महावीरचोकको एउटा घरमा मानिस बसेकै बेला उपमहानगरपालिकाबाट खटिएका अमिन सञ्जीव चौधरी र नगरप्रहरी रञ्जित राय र सुमन झासहितको टोलीले घरधनी भारत साह र महेश साहलाई कुटपिट गरेको थियो ।
नगरप्रहरीले बुट तथा लाठीले भरत र महेशलाई कुटपिट गरी चोकबाट घिसार्दै गाडीमा लगेर जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको थियो । पछि ती युवालाई स्थानीयले रिहा गराएर ल्याएका छन् ।
नगरप्रहरी र अमिनलाई कारबाहीको माग गर्दै दर्जनौंको संख्यामा स्थानीय युवाहरुले महावीरचोकमै टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले उपमहानगरपालिकाको नगर प्रहरी दमन चल्दैन भनी चर्को नाराबाजी गर्दै नगरप्रहरी र अमिनमाथि कारबाही नभएसम्म प्रदर्शन जारी रहने बताए ।
अहिले महावीरचोकको अवस्था तनावग्रस्त रहेको छ भने दर्जनौंको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…