मधेश केहिवर्ष भित्रै संसारले हेर्नैपर्ने भूभाग बन्नेछ : प्रचण्ड
सरकारले गरेको परिकल्पना कार्यान्यवन पश्चात् तराई मधेश एक स्वर्ग झैँ र समृद्ध भूभाग बन्ने बताए ।

२०७५ माघ २८ सोमबार, बेलुकी ६:२० बजे३ मिनेट पढाइ

सिरहा, २८ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहिवर्ष भित्रै मधेशको भूभाग संसारले हेर्नैपर्ने बन्ने बताएका छन् । सिरहाको मिर्चैयामा आज (सोमबार) देखि सुरु भएको ९ दिने प्रथम मिर्चैया महोत्सव–२०७५ को समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरेको परिकल्पना कार्यान्यवन पश्चात् तराई मधेश भूभाग नेपालको एक स्वर्ग झैँ र समृद्ध भूभाग बन्ने बताएका हुन् ।
तराई मधेशका लागि सरकारले छुट्याएका विभिन्न ठूला परियोजनाहरु चाँडै नै कार्यान्वयन हुन लागेको बताउँदै उनले नेपालको तराई मधेश सुन्दर अनि स्वर्ग बन्ने बताए ।
विभिन्न परियोजनाहरुबाट विद्युत पनि निकालिने र त्यो प्रदेश २ मा नै खपत गरिने कुरा पनि भइरहेको खुलाए ।
उनले भने, ‘फास्टट्रयाक निर्माण भइसकेपछि, बाराको निजगढमा निर्माण हुन लागेको अन्तराष्ट्रिय विमानस्थल बनिसकेपछि, पूर्वपश्चिम् रेल सञ्चालन भइसकेपछि, सुनकोशी कमला डाईभर्सन अनि खानेपानीसँग सम्बन्धित ठूला परियोजनाहरु कार्यान्वयन भइसकेपछि तराई मधेश नेपालको एउटा समृद्ध, संसारले हेर्नैपर्ने भूभाग बन्नेछ ।’
सुनकोशी कमला डाईभर्सन तथा प्रदेश २ का आठवटै जिल्लाको सिँचाई र खानेखानीको समस्या समाधानका लागि खानेपानी र सिँचाई मन्त्रालयसँग निरन्तर कुरा गरिरहेको उनले जानकारी दिए । ती विभिन्न परियोजनाहरुबाट विद्युत पनि निकालिने र त्यो प्रदेश २ मा नै खपत गरिने कुरा पनि भइरहेको खुलाए ।

उनले धेरै वर्षदेखि पछाडी परको हुलाकी राजमार्गका लागि भारतीय प्रम नरेन्द्र मोदीलाई स्वयँ भेटेर ध्यानाकर्षण गराएपछि पहिलो र दोश्रो दुबै फेजको हुलाकी मार्ग निर्माण प्रक्रिया अघि बढेको जनाए ।
नजी क्षेत्रको लगानी विना मुलुकमा समृद्धि असम्भव रहेको औल्याउँदै उनले निजी क्षेत्रसँग सहकार्य गर्न सरकारमा बहस चलिरहेको जानकारी दिए ।
उनले संविधान संसोधनको सवालमा पनि आफूले पहल गरेको र आवश्यक्ता अनुसार संसोधन गरिने बताए ।
तराई मधेश कृषिको मूख्य केन्द्र रहेको भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनामा यस भूभागलाई विशेष प्राथमिकतामा राखेको बताए । आँपको लागि सिरहा प्रख्यात रहेको र आँपको केन्द्रको रुपमा रहेको सिरहालाई ‘म्याङ्गो जोन’ को रुपमा घोषणा गरिने बताए ।
उद्योग वाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहको अध्यक्षतमा भएको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्ड सहभागी थिए भने विशिष्ट अतिथिका रुपमा उद्योगपति तथा गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतो सहभागी थिए । त्यसैगरी, अतिथिका रुपमा संघीय सांसदहरु, प्रदेश सांसदहरु, पूर्व मन्त्रीहरु, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत उद्योगी, व्यापारीहरु सहभागी थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । मिर्चैया उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव फागुन ७ गतेसम्म चल्नेछ ।
महोत्सवमा जिल्लाका विभिन्न ठाउँका मौलिक उत्पादनसँगै प्रदेश र देश विदेशमा उत्पादित वस्तुहरुलाई प्रदर्शनीका लागि राखिएको छ ।
मिर्चैया–६ स्थित थाना चोकदेखि बजार जानेबाटोको खाली कम्पाउन्डमा सुरु भएको ९ दिने महोत्सवको अवधि भरि स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले दर्शकहरुलाई झुमाउने छन् ।
महोत्सव प्रवेशका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुका लागि ३० र अशक्त तथा अपाङ्गका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
सिद्धहस्त पुरुष दामोदरानन्द ब्रम्हचारी बाबाको भूमिको नामले परिचित मिर्चैयामा सुरु भएको यो महोत्सवले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको मूख्य गन्तव्यसँगै कृषि, उद्योग, पर्यटन र स्थानीय व्यापार प्रबद्र्धनका लागि मूख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…