धनुषा : प्रहरीको 'डग टीम' ले यसरी पत्ता लगाए घटनाको सुराक
प्रहरी टोलीले उक्त घटनास्थलको प्राथमिक अनुसन्धान गरेपछि उनलाई हत्या गरी फालेर भागेको हुन सक्ने अनुमान गरेको छ ।

२०७५ माघ २० आइतबार, राति ९:५९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २० माघ । धनुषामा आज विहान भारतीय गाडीमा फेला परेको शवलाई हेटौडाबाट आएको प्रहरीको डग टीमले प्राथमिक अनुसन्धान गरेको हो ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरदेखि क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर जाने लोकमार्ग अन्तर्गत आज विहानै एक पुरुषको लास भारतीय नम्बर प्लेटको गाडीमा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । पूर्व पश्चिम राजमार्गदेखि करिब १०० मिटर दक्षिण भारतीय नम्बर प्लेटको गाडीमा पुरुषको शव बेबारिसे फालिएको थियो ।
घटनाको प्रकृति हेर्दै प्रदेश प्रहरीको आग्रहमा घटनाको सुक्ष्म अनुसन्धानको लागि हेटौडाबाट डग टोली (प्रशिक्षित कुकुर) अर्थात कुकुर सहितको प्रहरी टोलीले उक्त घटनास्थलको प्राथमिक अनुसन्धान गरेपछि उनलाई हत्या गरी फालेर भागेको हुन सक्ने अनुमान गरेको छ ।
पुरुषको दुवै खुट्टा भाँचिएको छ । कुनै कडा वस्तुले प्रहार गरी उनको खुट्टा भाँचिएको घटनाको प्रकृतिले देखाएको छ ।
प्रशिक्षित कुकुरलाई छाडेपछि कुकुर दगुर्दै घटनास्थलदेखि १०० मिटर उत्तर पूर्वपश्चिम राजमार्गमा गएर पुनः त्यहाँबाट राजमार्गमै करिब ५०० मिटरको दुरीमा रहेको पूलमा गएर सुँघेका थिए । टिमका अनुसार कुकुरको सेन्स अनुसार यस घटनामा सँलग्नहरुले उनलाई यहाँ फालेर पुलमा गएर गाडी चढेर भागेको हुन सक्ने अनुमान गरिएको छ ।
मृतक पुरुष सिरहाको रहेको प्रारम्भिक जानकारी प्राप्त भएपनि उनको नाम भने खुल्न सकेको छैन । बिआर ०७ पीए ५०८७ नम्बरको चारचक्के गाडीमा एक युवकको लास अलपत्र देखिएपछि खेत गएका स्थानीयवासीहरुले तत्कालै प्रहरीलाई खवर गरेको थियो ।
खवर पाएलगत्तै घटनास्थल पुगेका धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवर तथा प्रदेश प्रहरीको सँयुक्त टोलीले घटनास्थलको २०० मिटर चारैतर्फ घेराबन्दी गरेर डग टिमको साथमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…