राजपा सांसद रेशम चौधरीले अन्ततः लिए शपथ
निलम्बित सांसदको रुपमा उनलाई डिल्लीबजार कारागारमै राखिने ।

२०७५ पुस १९ बिहीबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाका मुख्य योजनाकारको रुपमा पुर्पक्षका लागि थुनामा रहेका राजपा नेता तथा सांसद रेशम चौधरीले पद तथा गोपनीयताको शपथ खाएका छन् ।
सभामुख कृष्णबहादुर महराले सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उनले थारु भाषामै शपथ लिएका छन् ।
चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए । उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन् भने चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो । निर्वचित भएको एक झण्डै वर्षपछि उनलाई पद तथा गोपनीयताको सपथ दिलाइएको हो ।
उनलाई आज (बिहीबार) बिहान साढे ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेपनि संसद बैठकको समय भएपछि ३ बजेलाई शपथ कार्यक्रम सारिएको थियो ।
राष्ट्रिय जनता पार्टी नेपालले चौधरीलाई शपथ दिलाउनेलगायतका आफ्ना मागहरु पूरा नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिएपछि सरकारले उनको शपथको व्यवस्था मिलाएको हो ।
०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त आन्दोलनलाई चर्काउन चौधरीले मुख्य भूमिका खेलेको आरोप लागेको थियो । उनले चुनाव जितिसकेपछि गत फागुन १४ अदालतसामु आत्मसमर्पण गरेका थिए ।
सपथ ग्रहण गराइएपनि उनलाई अहिले निलम्बित सांसदको रुपमा डिल्लीबजार कारागारमै राखिने छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…