खुसीको खवर : अब भोलीदेखि जनकपुरमै श्रम स्वीकृति हुने
जनकपुरबाटै श्रम स्वीकृतिको समाचारले मधेशमा उत्साह

२०७५ पुस १४ शनिबार, बेलुकी ५:१७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १४ पुस । वैदेशिक रोजगारीको लागि लिनुपर्ने श्रम स्वीकृति अब जनकपुरधामबाटै लिन सकिने भएको छ ।
देशबाट युवा पलायन र वैदेशिक रोजगारी तर्फको बाध्यताका साथै श्रम स्वीकृतिको लागि काठमान्डौँ गएर झमेला भोग्नुपर्ने बाध्यता अब मधेशका युवाहरुको लागि आईतबार अर्थात् भोली पुस १५ गतेदेखि सरल हुने भएको छ ।
नेपाल सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा श्रम स्वीकृतिको लागि शाखा दिने जनाइएको छ । तराई मधेशबाट वैदेशिक रोजागारीमा बढी युवाहरु गइरहेको तथा अधिक सँख्यामा तराई मधेशका युवाहरु वैदेशिक रोजागारीको लागि चाहिने श्रम स्वीकृति मात्र राजधानी काठमान्डौँमा सीमित भएको बेल अत्यधिक कठिनाईको सामना गर्नुपरेको थियो । जनकपुरमै श्रम स्वीकृति हुने भएपछि युवाहरुमा उत्साह पलाएको छ ।
संघीय संरचना लागुभएपछि विस्तारै अधिकार विकेन्द्रीकरण गर्दै सरकारले मधेश सरकारलाई यस्तो सुविधा प्रदान गरिएको छ । यसका साथै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन पुस १५ देखि प्रदेश नं. ५ को बुटबलबाट पनि श्रम स्वीकृतिको कार्यालय थालनी गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले प्रदेश नंं २ को लागि जनकपुर र प्रदेश नं. ५ को लागि बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकार्इ गठन गरिएकोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जनाए ।
'हाललाई ती कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम ति कार्यालयहरुबाट गरिने' - दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएकोमा ताहाचलमा श्रम स्वीकृति लिन सेवाग्राहीहरुको मोटो भिड लाग्ने गरेको थियो । संघीयताको मर्म बमोजिम केन्द्रबाट अधिकार विकेन्द्रीकरण गर्दै प्रत्येक प्रदेशमै श्रम कार्यालयको थालनी गर्न लागिएको हो ।
श्रम स्वीकृतिको लागि अनपढ र केही पढेलेखेका सहित पढे लेखेका व्यक्तिहरु समेत काठमान्डौँमा रातभरि जाग्राम बसी लाईनमा बस्नुपर्ने बाध्यता थियो । जनकपुरबाटै श्रम स्वीकृतिको समाचारले मधेशमा उत्साह छाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…