अयोेध्याका २५ हजारबढी जन्तीलाई ३६ व्यञ्जन खुवाएर बिदाई
जानकी मन्दिर परिसरमा ३६ परिकार खुवाएर बिदाइ गरिएको

२०७५ मंसिर २७ बिहीबार, बेलुकी ६:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको अयोध्याबाट विदेह राजा जनकको नगरी जनकपुरधाम रामजानकी विवाहोत्सवमा जन्ती (बराती) आएका साधुसन्तलाई विभिन्न परिकार खुवाएर जनकपुरधामबाट आज (विहिबार) बिदाई गरिएको छ ।
मधेशको पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात् बिदाई गर्ने परम्परा अनुरुप आज बिदाई गरिएको हो । यसलाई साँस्कृतिक भाषामा रामकलेवा भनिन्छ । विधिविधान अनुसार, रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने चलन रहिआएको छ । बिदाईको क्रममा मधेशको परम्परामा आधारित धोती, पगडी र कुर्ता प्रदान गर्दै बिदाई गरिन्छ ।
तर प्रत्येक वर्षझैँ यसपाली पनि बाहिरबाट आएका हजारौँ श्रद्धालुहरु जाडोमै खुल्ला आकाशमुनि रात विताउन बाध्य भए भने शौचालयको अभाव पनि उत्तिकै देखियो ।
जानकी मन्दिरको प्राङ्गणमा भएको रामकलेवामा मधेशको पहिचान झल्किने सँस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । गत शुक्रबारदेखि सुरु भएको रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो ।
एक सातासम्म चलेको रामजानकी विवाह महामहोत्सवमा अयोध्याबाट जन्तीका रुपमा युपी (उत्तर प्रदेश) का मुख्यमन्त्री योगी आदित्यनाथसहितका भारतीय नागरिक र साधुसन्त जन्ती बनेर जनकपुरधाम आएका थिए ।
अयोध्याबाट आएका २५ हजारबढी जन्ती (बराती) हरुलाई जानकी मन्दिर परिसरमा ३६ परिकार खुवाएर बिदाइ गरिएको जानकी मन्दिरका छोटा महन्त राम रोशन दास बैष्णवले जनाएको छ । यससँगै सप्ताहव्यापी विवाहपँचमी आज विधिवत् रुपमा सकिएको छ ।
यसपाली आयोजन गरिएको विवाहपञ्चमी महोत्सवमा परापूर्वकालमा देखिएको श्रद्धालुसागरको आभाष गरिएको हो । भारत युपीका मुख्यमन्त्री योगी सहित चर्चित कलाकारहरु समेत आउने भएपछि देश विदेशबाट श्रद्धालुहरु जनकपुरधामलाई दर्शन गर्न आएका थिए ।
प्रदेश नं. २ का सरकारले यसपाली विवाहपञ्चमी महोत्सवको लागि ५० लाख रुपैयाँ उपलब्ध गराएपछि आयोजक जानकी मन्दिरले समेत अतिथि स्वागत, जन्ती स्वागत र सजावट तथा धुमधाममा कुनै प्रकारको कसर बाँकी राख्न चाहेनन् ।
तर प्रत्येक वर्षझैँ यसपाली पनि बाहिरबाट आएका हजारौँ श्रद्धालुहरु जाडोमै खुल्ला आकाशमुनि रात विताउन बाध्य भए भने शौचालयको अभाव पनि उत्तिकै देखियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…