विवाहपञ्चमीको भीडबाट ७५ पाकेटमार पक्राउ
प्याकेटमारहरुमा स्थानीय युवकहरु पनि देखिएको

२०७५ मंसिर २७ बिहीबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुधबार धुमधामका साथ मनाइएको विवाहपञ्चमी महोत्सवको मेलाबाट प्रहरीले प्याकेटमारीको आरोपमा ७५ जनालाई पक्राउ गरेको छ ।
प्रत्येक वर्ष लाग्दै आएको विवाहपञ्चमी मेलाबाट दर्जनौ प्याकेटमार र चोरहरु पक्राउ पर्दै आएको छ । यसपाली अन्य वर्षभन्दा धुमधामका साथ विवाहपञ्चमी महोत्सव मनाइएको छ । विवाहपञ्चमीको भीडबाट जिल्ला प्रहरी कार्यालय धनुषाले प्याकेटमारीको आरोपमा ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका प्याकेटमारहरुलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालयमा राखिएको छ भने उनीहरुलाई अनुसन्धान पश्चात कारवाही प्रक्रिया अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै धनुषाका प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले भने, - "बुधबार विहानदेखि अबेर रातीसम्म ७५ जना प्याकेटरमा, चोर, जेबकत्तराहरुलाई पक्राउ गरिएको छ । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय धनुषामै राखिएको छ । अनुसन्धान आज सुरु गर्नेछौँ । पहिलेदेखि कुनै मुद्दामा सँलग्न भएको ठहर भएमा उनीहरुलाई कारवाही प्रक्रिया अगाडी बढाउने छौँ । यदि संलग्नता नदेखिएको खण्डमा र उनीहरुको साथबाट कुनै प्रकारको चोरीका समानहरु बरामद नभए रिहा गर्नेछौँ ।"
कैयौँलाई आशंकको आधारमा पक्राउ गरिएको जनाउँदै एसपी थपलियाले उनीहरुलाई प्रारम्भिक अनुसन्धानपछि रिहा गर्ने जनाए । प्याकेटमारहरुमा अधिकांश बढी महिलाहरु रहेका प्रहरीले जनाएको छ । उनीहरु भारत विहारको बढी रहेको प्रहरीले जनाएको छ । प्याकेटमारहरुमा स्थानीय युवकहरु पनि देखिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…