सिरहा बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ३ पुग्यो !
हालसम्ममा जम्मा ३ जनाको मृत्यू भइसकेको छ भने अन्य ४३ जना उपचाररत छन् ।

२०७५ मंसिर ७ शुक्रबार, दिउँसो १२:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गएराति सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पूल नजिकै भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् कमला पुल नजिकै बिहिवार भएको बस दुर्घटनामा परी घाईते मध्ये थप २ जनाको मृत्यु भएको हो ।
पछिल्लो पटक आज बिहान घाईते मध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साहको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनामा यसअघि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको घटनास्थलबाट उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान अर्थात् भूतमेला भर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनी ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी बसमा सबार जम्मा ४६ जना घाइते भएका थिए । त्यसमध्ये हालसम्ममा जम्मा तीनजनाको मृत्यू भइसकेको छ भने अन्य ४३ जना उपचाररत छन् ।
राति नै घाइतेमध्ये गम्भीर अवस्था रहेका तीन जनालाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । अन्यको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी शुकदेव खनालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…