राममनोहरको न्यायका लागि सिरहा जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउन गएका १० पक्राउ
स्वतन्त्र मधेश गठबन्धनले विरोधका विभिन्न कार्यक्रमहरु जारी राखेको छ ।

२०७५ असोज २१ आइतबार, दिउँसो ३:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रहरी हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहर यादवको घटनाबारे सत्य–तथ्य छानविनको मागसहित न्यायको लागि सिरहा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउन गएका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन् । ज्ञापन–पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले सो ज्ञापन–पत्र लिन नमानेपछि उनीहरु नाराबाजी गर्न थालेपछि प्रहरीले एक महिलासहित १० जनालाई पक्राउ गरेका हुन् ।
तारेखका लागि जिल्ला अदालत पुगेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतसँगै सिरहा पुगेका उनीहरु तारेख पश्चात् ज्ञापन–पत्र बुझाउने कार्यक्रम राखेका थिए । तारेख सकेपछि डा. राउतलाई बिदाई गरेर उनीहरु ज्ञापन–पत्र बुझाउन जाँदा जिल्ला अधिकारीले लिन मानेन् । राउत समर्थकले प्रहरी र जिल्ला अधिकारी विरुद्ध नाराबाजी गरेपछि पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेहरुमा सतिला यादव, मनिस यादव, बालेश्वर यादव, शुभलाल महतो, राजकुमार यादव, जितन यादव, ज्ञान कामती, पप्पु यादव, राजकुमार यादव र रामसुगन यादव रहेको प्रहरीले जनाएको छ । समातिएका उनीहरुलाई जिप्रका सिरहामा राखिएको छ ।
प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाउँदै आएको छ । राम मनोहरको मृत्यु कारण रोग नभई जानी जानी मारेको गठबन्धनको ठहर छ ।
प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा गर्नुपर्ने, यादवको परिवारलाई क्षतिपूर्ति दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, संलग्न दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गठबन्धनले गर्दै आएको छ ।
उपप्रधान तथा स्वास्थमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बर्दियामा भदौ ७ गते कालो झन्डा देखाएको आरोपमा राम मनोहरसहितका कार्यकर्ताहरु पक्राउ परेका थिए । प्रहरी हिरासतमा अचेत भएका यादवलाई प्रहरीकै नियन्त्रणमा काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
मृतक नेता राम मनोहर यादवलाई न्याय दिलाउनको लागि गर्दै आएको संघर्षको क्रममा शुक्रबार बाँकेमा गरिएको चक्काजाममा प्रहरीले लाठीचार्ज गर्दा राम मनोहरकी पत्नी गम्भिर घाईते भएकी थिइन् भने २० जना प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएका थिए ।
स्वतन्त्र मधेश गठबन्धनले विरोधका विभिन्न कार्यक्रमहरु जारी राखेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…