मानवीय संवेदनाः रसुवा बाढीमा बगेर आएको लासको कानबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिको शवबाट समेत गहना लुटिएको घटना सार्वजनिक भएपछि घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ ।

२०८३ भदौ ११ बिहीबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, चितवन । रसुवामा आएको भीषण बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका–५ चाँदबेला घर भई भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो ।
बाढीले बगाएर ल्याएको शव चितवनमा फेला परेपछि त्यसको कानमा रहेको सुनको मुन्द्रा लुछेको दृश्य सामाजिक सञ्जालमा भिडियोमार्फत सार्वजनिक भएको थियो । उक्त भिडियोका आधारमा प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरेको थियो ।
भिडियोमा देखिएको हुलिया तथा अन्य विवरणका आधारमा अनुसन्धान गर्दै प्रहरीले गुरुङ र चौधरीलाई पक्राउ गरेको एसपी पौडेलले बताए ।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका व्यक्तिको शवबाट समेत गहना लुटिएको घटना सार्वजनिक भएपछि घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आक्रोश व्यक्त भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…