अब भोजपुरी गीत बजाउन प्रतिबन्ध, अटेरी गरे नगर जरिवानासहित कारवाही हुने
पछिल्लो समय गाउँमा जाँडरक्सी सेवनपछि झैँझगडा गर्ने, सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको र त्यसले सामाजिक वातावरण प्रभावित हुन थालेपछि स्थानीय भेला राखेर यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले बताए।

२०८३ बैशाख २४ बिहीबार, बिहान १०:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगन्ज महानगरपालिका–३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ।
बुधबार वडाध्यक्ष मनोजकुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले विवाह, भोज तथा अन्य सामाजिक एवं निजी कार्यक्रममा भोजपुरी गीत बजाउन नपाइने निर्णय गरेको हो। निर्णय उल्लंघन गर्ने व्यक्तिलाई कारबाहीसँगै नगद जरिवाना गर्ने चेतावनीसमेत दिइएको छ।
वडाध्यक्ष यादवका अनुसार गाउँ भेलाले जन्ती प्रवेशसम्बन्धी पनि नयाँ नियम बनाएको छ। कसैको घरमा विवाहका लागि जन्ती आएका बेला सम्बन्धित परिवारको अनुमति बिना जन्तीमा प्रवेश गरे कारबाही र जरिवाना गरिने निर्णय गरिएको उनले बताए।
यस्तै, वडाभित्र सञ्चालनमा रहेका मदिरा पसल बेलुकी ८ बजेभित्र बन्द गर्नुपर्ने निर्णय गरिएको छ। राति १० बजेपछि घरबाहिर अनावश्यक रूपमा हिँडडुल गर्न नपाइने तथा मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्नेलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिएर कारबाही गरिने वडाले जनाएको छ।
पछिल्लो समय गाउँमा जाँडरक्सी सेवनपछि झैँझगडा गर्ने, सामाजिक परम्पराका नाममा विकृति बढ्दै गएको र त्यसले सामाजिक वातावरण प्रभावित हुन थालेपछि स्थानीय भेला राखेर यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले बताए।
गाउँ भेलामा जनप्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा युवा अगुवाको सहभागिता रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…