बलात्कार कसुरमा जेलमा रहेका युवक जेलबाट भागेर पीडितसँगै गरे विवाह

२०८२ कार्तिक १८ सोमबार
बेलुकी ६:३३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । बलात्कारको कसुरमा कारागार कार्यालय सप्तरीमा कैदी जिवन बिताइरहेका एक कैदीले पीडित किशोरीसँगै विवाह गरेको खुलासा भएको छ । 

गत भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय सप्तरी राजविराजबाट फरार भएका सप्तरीको महादेवा गाउँपालिका ४ निवासी २४ वर्षीय शत्रुघन मुखियाले पीडित किशोरीसँगै विवाह गरेका हुन् । 

कारागारबाट फरार भएका कैदीबन्दीहरुलाई सरकारले फिर्ता हुन सूचना जारि गरेपछी मुखिया केही सातापछि विवाह गरेर पुनः आफैं कारागार फर्केका हुन् । उनी कारागारमा फर्किदा दुलहीको रुपमा ती किशोरीलाई लिएर आएका थिए । 

शत्रुघन दुई वर्ष अघि एक किशोरीको बलात्कारको आरोपमा सप्तरी जिल्ला अदालतबाट १२ वर्ष कैद सजाय पाएका थिए । त्यतिबेला पीडितका रुपमा उभिएकी ती किशोरी नै अहिले उनको श्रीमतीको रुपमा देखिएकी छिन् । पीडित किशोरी र मुखिया छिमेकी हुन् । 

कारागारबाट फरार भएको भोलिपल्टै भदौ २६ गते मुखियाले स्थानीय कमलामाई मन्दिरमा किशोरीसंग विवाह गरेको बताएका छन् । गाउँका भरभलादमीको रोहबरमा भएको विवाहपछि उनी असोज १९ गतेसम्म किशोरीकै घरमा बस्दै आएका थिए । 

कारागार प्रशासनले २० असोजसम्म आत्मसमर्पण गर्न सुचना जारी गरेपछि उनी सोही दिन आफैं कारागार कार्यालय सप्तरीमा नयाँ दुलहीलाई साथमा लिएर आत्मसमर्पण गर्न आए । 

कारागार फर्किदै गर्दा मुखिया दम्पतीले भने, “हामी प्रेममा थियौं, जबरजस्तीकरणी थिएन ।” दुई वर्षअघि सप्तरी जिल्ला अदालतले जबरजस्ती करणीमा दोषी ठहर गर्दै शत्रुघनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो । 

आफुहरुबीच प्रेम रहेको र त्यस बेला पनि प्रेम विवाह गरी सहमतीमै शारिरीक सम्बन्ध कायम भएको शत्रुघनको भनाई छ । तर अदालतले विहे गर्ने उमेर नपुगेको तथा पीडित पक्षको उजुरी तथा प्रहरी प्रतिवेदनको आधारमा जबरजस्ती करणी मुदामा सजाय तोकेपछि उनी जेल चलान भएका हुन् । न्यायका लागी अहिले उच्च अदालत जनकपुर–राजविराज इजलाश समक्ष पुनरावेदन गरेको उनले जानकारी दिए । 

शुरुमा शत्रुघनका अभिभावकले प्रेम सम्बन्धलाई विवाहको रुप दिन अस्विकार गर्दा आफ्ना अभिभावकले शत्रुघन विरुद्ध बलात्कारको आरोप लगाई प्रहरीमा उजुरी दिएको ज्योतिको भनाई छ । अहिले पनि उनका बुवाले आफुहरुको विवाहलाई स्वीकार्न तयार नरहेको ती किशोरीले सुनाइन् । 

उनका अनुसार सुरुवातमै दुबैबीच प्रेम सम्बन्ध थियो, तर परिवारको अस्वीकारका कारण विवाद चर्कियो । “बुवाले उजुरी गरेपछि शत्रुघन जेल परे । गाउँले र अभिभावकले जे भने त्यही कागजमा सही गरें त्यही कागजले उनलाई जेलमा पु¥यायो” किशोरीले भनिन् अहिले डेढ महिनाको गर्भवती छु । 

फरार भएर पनि शत्रुघन स्वेच्छाले कारागर फर्किनु सकारात्मक कदम भएपनि सजाय पुरा गर्न अझ करिब १० वर्ष बाँकी रहेको कारागार कार्यालय सप्तरीका प्रमुख गंगालाल योगीले बताए । 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 50%
  • 0%

  • २०८२ कार्तिक १८ सोमबार

Bureau Menus