शिक्षाको गुणस्तर वृद्धिका लागि ‘REAL Plan’ कार्यक्रम
नगर प्रमुख यादवले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुका साथै आगामी दिनमा यस्ता तालिम तथा अभ्यासहरू अझ प्रभावकारी र नियमित रूपमा सञ्चालन गरिने बताए।

२०८२ साउन १६ शुक्रबार, दिउँसो १२:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, १६ साउन । धनुषाको मिथिला बिहारी नगरपालिकाले शिक्षाको निरन्तरता र गुणस्तरीयता सुनिश्चित गर्न सिकाइ निरन्तरताका लागि सिकाई आफैं तथा द्रुत सिकाई योजना (REAL Plan) अन्तर्गत एकदिने अभिमुखिकरण तथा समन्वय बैठकहरू आयोजना गरेको छ।
मिति २०८२।०३।२५ गते नगरपालिकाको सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख राजेन्द्रप्रसाद यादवको अध्यक्षता रहेको थियो भने नगर उपप्रमुख शोभा देवी साह, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, सामाजिक विकास समिति संयोजक राम उदगार दास, शिक्षा शाखाका कर्मचारी, प्रशिक्षक दीपक खत्री, सहजकर्ता तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर क्षेत्रका सार्वजनिक विद्यालयहरूबाट कक्षा ३ देखि ५ सम्म नेपाली र गणित विषय पढाउने शिक्षक तथा कक्षा ६ देखि ८ सम्मका नेपाली, गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकहरूको उल्लेख्य सहभागिता थियो। यस तालिममार्फत शिक्षकहरूलाई द्रुत सिकाई योजना सम्बन्धी अवधारणा, पठन-पाठनमा सुधार ल्याउने तरिका तथा सिकाइ मूल्याङ्कन विधिबारे जानकारी दिइयो।
त्यसैगरी, मिति २०८२।०३।२६ मा आयोजित अर्को कार्यक्रम नगर क्षेत्रका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा इमिस (EMIS) हेर्ने शिक्षक-कर्मचारीहरूका लागि समर्पित गरिएको थियो। कार्यक्रम नगर प्रमुखको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन विना कुमारी सिंहले गरेकी थिइन्।
मिति २०८२।०३।२७ गते भने शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको सहभागितामा एक समन्वय बैठक आयोजना गरियो। सो कार्यक्रममा प्रशिक्षक दीपक खत्रीद्वारा ‘REAL Plan’ अन्तर्गत विद्यालयहरूमा प्रदान गरिएका परीक्षण सामग्रीहरूको प्रयोगविधि बारे डेमो क्लास समेत सञ्चालन गरिएको थियो। साथै, विद्यालय तहमा मिति २०८२।०३।२७ गते निदानात्मक परीक्षण (diagnostic test) सञ्चालन गरिएको थियो, जसको नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा लगायतको टोलीले अनुगमन पनि गरेको थियो।
नगरपालिकाले शिक्षा क्षेत्रमा अपनाएको यस्ता योजनागत प्रयासहरूबाट शिक्षकहरूको दक्षता अभिवृद्धि हुने, विद्यार्थीहरूको सिकाइ स्तरको सही मूल्याङ्कन र आवश्यक हस्तक्षेपका उपायहरू तय गर्न सहज हुने अपेक्षा गरिएको छ।
नगर प्रमुख यादवले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुका साथै आगामी दिनमा यस्ता तालिम तथा अभ्यासहरू अझ प्रभावकारी र नियमित रूपमा सञ्चालन गरिने बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…