पशुपति प्रवेश प्रकरणमा निष्पक्ष छानबिन गर्न दारुल इफ्ता नेपालको माग

२०८३ असोज २३ शुक्रबार
बिहान १०:०९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दारुल इफ्ता नेपालको ग्रान्ड मुफ्ती कार्यालयले पशुपतिनाथ मन्दिर प्रवेश प्रकरणमा निष्पक्ष छानबिन गर्न माग गरेको छ। कार्यालयले धार्मिक स्थलको मर्यादा, स्थापित परम्परा र पारस्परिक धार्मिक सम्मान कायम राख्नुपर्नेमा जोड दिएको छ।

कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा पशुपतिनाथ मन्दिरको मूल परिसरमा गैर-हिन्दूको प्रवेश निषेध गर्ने लामो समयदेखिको धार्मिक अभ्यास र परम्पराको सम्मान गर्नुपर्ने उल्लेख छ।

विज्ञप्तिमा हालै एक मुस्लिम युवा महिलासँग पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट भित्र गएको तथा त्यहाँ तस्बिर र भिडियो खिचेको विषय सामाजिक सञ्जालमा चर्चामा आएको उल्लेख गर्दै घटनाबारे तथ्य र प्रमाणका आधारमा छानबिन हुनुपर्ने बताइएको छ।

कार्यालयले घटनाको मुख्य विषय सम्बन्धित व्यक्तिको धार्मिक पहिचान नभई मन्दिरमा स्थापित नियम, परम्परा र धार्मिक मर्यादाको पालना भए–नभएको रहेको स्पष्ट पारेको छ।

यदि सम्बन्धित व्यक्तिले प्रवेश निषेधबारे जानकारी हुँदाहुँदै जानाजानी नियम उल्लंघन गरेको प्रमाणित भए आवश्यक कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। अज्ञानतावश घटना भएको भए सम्बन्धित व्यक्तिलाई नियम र धार्मिक मर्यादाबारे जानकारी गराउन सकिने पनि कार्यालयको धारणा छ।

विज्ञप्तिमा प्रवेशमा प्रतिबन्ध रहेको अवस्थामा सम्बन्धित व्यक्ति मूल प्रवेशद्वारबाट कसरी भित्र प्रवेश गर्न सफल भए भन्ने विषयमा समेत प्रश्न उठाइएको छ। घटनाबारे मन्दिरमा खटिएका सुरक्षाकर्मी तथा व्यवस्थापन पक्षको भूमिकासमेत निष्पक्ष रूपमा छानबिन गरी आवश्यक सुधार गर्नुपर्ने माग गरिएको छ।

कार्यालयले एक व्यक्तिबाट भएको भनिएको गल्ती वा नियम उल्लंघनलाई सम्पूर्ण मुस्लिम समुदायसँग जोड्न नहुनेमा जोड दिएको छ। व्यक्तिगत घटनालाई कुनै समुदायको व्यवहार, चरित्र वा नियतमाथि दोषारोपण गर्ने आधार बनाउन नहुने विज्ञप्तिमा उल्लेख छ।

धार्मिक स्थलहरू आस्था र भावनासँग प्रत्यक्ष जोडिएका संवेदनशील स्थान भएकाले यस्ता विषयमा उत्तेजना, घृणा र सामुदायिक आरोप–प्रत्यारोपभन्दा तथ्य, कानुन, धार्मिक मर्यादा र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्ने कार्यालयको भनाइ छ।

धर्म र आस्था फरक भए पनि एकअर्काको धार्मिक परम्परा र मर्यादाको सम्मान गर्नुपर्ने उल्लेख गर्दै कार्यालयले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेविसंघको इकाई सदस्यबाट कांग्रेस प्रदेश सचिवको दौडसम्म : टकेन्द्र राईको दुई दशकको राजनीतिक यात्रा

  • २०८३ असोज २३ शुक्रबार

खोटाङ । राजनीतिमा एकैपटक पदमा पुग्नेभन्दा संगठनको तल्लो तहबाट सुरु गरेर जिम्मेवारीको विभिन्न खुड्किला पार गर्नुको आफ्नै महत्व हुन्छ । टकेन्द्र राईको राजनीतिक यात्रा पनि यही प्रक्रियाको एउटा उदाहरण हो

पूरा पढ्नुहोस्

Bureau Menus