अम्बेडकर पार्क सल्हेश फूलबारीमा होईन, नजिकै रहेको नीजि जग्गामा निर्माण हुनेछः डा. सिके राउत
डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् ।

२०८२ बैशाख १६ मंगलबार, दिउँसो २:३८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको ऐतिहासिक सल्हेश फूलबारीस्थित बाबा साहेब अम्बेडकरको शालिको शिलान्यास गरेपछि विरोध भएको छ । सो विरोधप्रति डा. सिके राउतले प्रष्ट धारणा दिएका छन् ।
विभिन्न मिडियासहित समाजिक सँजालमा राजा सल्हेशको फूलबारीमा अम्बेडकर पार्क बनाउन लागिएकोप्रति खण्डन गर्दै अम्बेडकर पार्क सल्हेश फूलबारीको जग्गामा नभई बाहिर अन्य व्यक्तिको नीजि दान गरिएको जग्गामा बन्ने प्रष्टयाएका छन् ।
डा. राउतले समाजिक सँजालमा गरिएको टिकाटिप्पणी नबुझेर मात्र गरेको बताए । उनले मधेशको पौराणिक धरोहर लोक नायक सल्हेशको फूलबारी ऐतिहासिक भूमिमा सो पार्क नबनेर सो ठाउँकै नाम सल्हेश फूलबार भएर अलमलता भएको प्रष्ट पारे ।
मधेस प्रदेश सरकारको रु ८० लाख लागतमा वन तथा वातावरण मन्त्रालय अन्तर्गतको डिभिजन वन कार्यालय सिरहाले आगामी असार १५ भित्र पार्क निर्माण गर्ने गरी काम अगाडि बढेको बताउँदै सो पार्क दलित समुदायको लागि एक ऐतिहासिक पार्क बन्ने बताए ।
शिलान्यासमा पुगेका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सलहेश फूलबारी क्षेत्रको विकासका लागि ‘मास्टर प्लान’ सहित प्रदेश सरकारले योजना अघि बढाएको बताए
“यो क्षेत्र आफैँमा धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र हो । यसको आफ्नै महत्व र गरिमा छ । यस क्षेत्रलाई व्यवस्थित बनाइ धार्मिक पर्यटन विकास र छिमेकी भारतीय पर्यटकलाई आकर्षित गर्न विशेष महत्व दिएर अम्बेडकर पार्क बनाउन लागिएको हो”, उनले भने, “अम्बेडकर जस्तो विश्वमा प्रतिष्ठित व्यक्तिको नाममा पार्क बनाउँदा यहाँका दलित तथा अन्य समुदायलाई एउटा प्रेरणा मिल्नेछ । यस क्षेत्रको जैविक विविधतालाई ध्यान दिँदै विकास गरिने छ ।”
डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार पार्कभित्र बाबासाहेव भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति, प्रवेशद्वारलगायत संरचना बनाइने छन् ।
धार्मिक वनअन्तर्गत करिब नौ बिघा क्षेत्रफलमा यो क्षेत्र फैलिएको छ । पार्क निर्माणामा थप सहजताका लागि मन्दिरका पुजारी एवं स्थानीय जीतेन्द्रदेव धामी (दनुवार)ले फूलबारीसँगै जोडिएको आफ्नो नामको १० घुर जग्गासमेत दान गरेका छन् ।
प्रत्यक वर्ष वैशाख १ गते फूलबारी मेला लाग्ने गर्दछ, जहाँ सोही दिनमात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न नेपाल तथा भारतबाट हजारौँ भक्तजन आउने गरेका छन् ।
उक्त शिलान्यास कार्यक्रममा वन तथा वातावरण मन्त्री त्रिभुवन साह,जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा।जयकान्त राउत , जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव,प्रदेश सांसद संजय यादव,भाग्यश्री चौधरी ,अनिता साहसहित जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेका थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…