हनुमान जयन्ती झडपः ४३ जना घाईते, एकलाई गोली लाग्यो, सेना परिचालनपछि अवस्था समान्य
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।

२०८१ चैत ३१ आइतबार, बिहान ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । वीरगञ्जको छपकैयामा शनिवार दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कर्फ्यु जारी छ ।
कर्फ्यु लगाएको अवस्थामा समेत प्रदर्शन गरिएकाले प्रहरीले गोली चलाउँदा एक वृद्ध घाइते भए । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरियो । आज बिहानदेखि अवस्था सामान्य बनेको छ ।
झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए । नारायणी अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहले प्रहरीसहित ४३ जना घाइते अस्पतालमा भर्ना भएको बताए । उनका अनुसार कतिपय सामान्य उपचारपछि घर फर्किसकेका छन् । केही अझै उपचाररत छन् ।
झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो । प्रहरीले करिब ७५ सेल आश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कर्फ्यु रहनेछ । कर्फ्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।
दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् । प्रशासकीय अधिकृत दीपक पटेलले सिडिओले अहिले सर्वदलीय बैठक बोलाएको र छलफल भइरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…