जनकपुरका वडाध्यक्ष, सचिव र पियन घुसखोर ठहर, तीनैको पद चैट
अख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।

२०८१ पुस २६ शुक्रबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घुससहित पक्राउ परेको जनकपुरधाम उपहानगरपालिकाका एक वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी साबित भएका छन् ।
विशेष अदालतले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष उपेन्द्र सहनीलाई दोषी करार दिएको हो । वडाध्यक्ष सहनीका साथै अन्य दुई जनालाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो । सो मुद्दामा वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डललाई अदालतले दोषी ठहर गरेको हो ।
अदालतले वडाध्यक्ष सहनीलाई ६ महिना कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई जनही १ लाख १२ हजार ५०० रुपैयाँ जरिवानासहित ६ महिना कैदको फैसला सुनाएको छ ।
गत भदौ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष सहनी, वडा सचिव साह र कार्यालय सहयोगी मण्डललाई पक्राउ गरेको थियो । उनीहरूले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ का एक सेवाग्राहीसँग घर बाटो सिफारिस गरेबापत घुस लिएका थिए ।
सेवाग्राहीले आफ्नो जग्गाको घर बाटो सिफारिसको लागि वडाध्यक्ष कार्यालयका सहयोगी मण्डलमार्फत साढे ४ लाख रुपैयाँ घुस दिएका थिए । अख्तियारको टोलीले उक्त रकमको लेनदेनमाथि छानबिन सुरु गरेको थियो ।
अख्तियारको अनुसन्धान टोलीले दोषीहरूलाई न्यायिक हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको थियो । अदालतमा पेस भएको प्रमाण र बयानका आधारमा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…