भ्रष्टाचारी ठहर भएपछि रिसले माते पूर्व मेयर पासवान, उजुरी हाल्नेलाई अन्धाधुन लाठी प्रहार !
आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए । महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।

२०८१ मंसिर १ शनिबार, बिहान ९:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि रिसले मातेका सिरहा कर्जन्हा नगरपालिकाका पूर्व मेयर गँगा पासवानले उजुरी हालेको भन्दै एक स्थानीयलाई अन्धाधुन लाठी प्रहार गरेका छन् ।
विशेष अदालतबाट प्रशासकीय भवन निर्माणमा दोषी ठहर भएपछि रिसले आगो भएका पूर्व मेयर पासवानले स्थानीय ओम प्रकाश महतोलाई अन्धाधुन लाठी हानेको आरोप लगाइएको छ ।
कर्जन्हा बजारस्थित चिया पसलमा बिहीबार बेलुकी बसिरहेकै अवस्थामा महतोमाथि पासवानले अन्धाधुन लाठी बर्षाएको आरोप उनले लगाए । बाँसको फट्ठाले हानेको र यसले आफ्नो गर्धन तथा दाहिने हातमा चोट लागेको उनले बताए ।
महतो लगायतका केही व्यक्तिहरुले नै आफूमाथि मुद्दा हालेर बर्बाद पारेको भन्दै पासवानले चिया पसलमा पुगेर अन्धाधुन लाठी बजारेको हो । एकाएक पसल आफू बसिरहेको अवस्थामा लाठी प्रहार गरेको आरोप महतोको छ ।
नगरपालिकाको केन्द्रको विषय अदालतमा विचाराधीन रहेकै अवस्थामा २०७८ माघमा प्रशासकीय भवन निर्माणमा कामै नगरी १ करोड ८ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा परेको थियो । त्यसबारे विशेष अदालतले बुधबार मात्रै पासवानसहित पाँच जनालाई दोषी करार गरेको थियो ।
आफूले उपचार गराएर प्रहरीमा जानकारी गराएको र आइतबार जाहेरी लिएर जाने तयारी रहेको महतोले बताए । महतोका अनुसार, पासवान मेयर छँदा उनीलगायतका व्यक्तिहरु विभिन्न योजनाहरुमा भएका भ्रष्टाचारका विषयमा अख्तियार तथा अदालतमा उजुरी हाल्ने गरेका थिए ।
दोषी ठहर हुनेमा पासमानसँगै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव छन् । उनीहरुलाई अदालतले जनही २१ लाख ६० हजार जरिवाना सुनाएको छ भने सजाय निर्धारणका लागि मंसिर १० गते पेसी तोकेको छ ।
प्रहरीले पनि यो विषय सामान्य जानकारीमा आएको र थप बुझ्ने काम भइरहेको जनाएको छ । ‘यस विषयमा मौखिक रुपमा अहिले सामान्य जानकारी हामी कहाँ आएको छ,’ इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले भने, ‘विस्तृत बुझ्ने काम प्रहरीले गरिरहेको छ ।’
यता, पूर्वमेयर पासवानले भने आफूसँग ओमप्रकाशको सामान्य भनाभन भएपनि आफूले कुटपिट भने नगरेको दाबी गरेका छन् । ओमप्रकाश लगायतका व्यक्ति चिया पसलमा बसिरहेका बेला आफू पनि त्यहाँ गएको र उनले आफूलाई जिस्काउन खोज्दा सामान्य भनाभन मात्र भएको दाबी उनको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…