सिरहा कर्जन्हा नगरपालिकाका पूर्व मेयर गंगा पासवान भ्रष्टाचारी साबित
मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।

२०८१ कार्तिक ३० शुक्रबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गंगा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँचजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले यही बुधबार उनीहरूलाई दोषी ठहर गरेको हो ।
मंगलबार र बुधबारको सुनुवाइपछि विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वमेयर पासवान, प्रमुख प्रशासकीय अधिकृत मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर भएका सबैको सजाय आगामी मंसिर १० गते निर्धारण गरिने विशेष अदालतले जनाएको छ।
अख्तियारले १ करोड ८ लाख रुपैयाँ बिगो मगदाबी गर्दै २०८० चैत १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
कर्जन्हा नगरपालिकाले आर्थिक वर्ष ०७८/७९ मा प्रशासनिक भवन बनाउन ठेक्का आह्वान गरेको थियो।
तर, यसबारेमा उच्च अदालत जनकपुर राजविराज इजलासले नगरपालिका कार्यालय नसार्नू भनी मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिएको थियो ।
उच्च अदालतको आदेश अवज्ञा गर्दै मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डलले निर्माण अघि बढाएपछि अख्तियारमा उजुरी परेको थियो ।
०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर पासवान नेकपा माओवादी केन्द्रबाट मेयर बनेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…