दँगा प्रहरीका एसपी कार्कीले नीजि घर बनाउन सिपाहीलाई बनाए मजदुर, गणकै गाडीमा ढुवानी
यता, एसपी कार्कीले वन कर्मचारीलाई थर्काएर प्रहरी गाडीमा काठको गोलियाहरु समेत लगेको बताईन्छ । वन कर्मचारीलाई पदको धाक देखाउँदै एसपी कार्कीले आफ्नो घर बनाउन सरकारी काठ लगेको हो ।

२०८१ जेठ २० आइतबार, राति ११:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केबरमा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कार्कीले आफ्नो निजी घर बनाउन गणकै प्रहरी र गाडी प्रयोग गरेको भेटिएको छ।
मिथिला नगरपालिका वडा नम्बर १० लालगढमा एसपी कार्कीले आफ्नो घर बनाउँदै छन्। तर त्यहाँ उनले मजदुरका रूपमा गणकै प्रहरी कर्मचारी र निर्माण सामग्री ढुवानी गर्न गणकै गाडी प्रयोग गरेको पाइएको हो।
निर्माण सामग्री घामपानीले नबिग्रुन् भनेर घर बनिरहेकै छेउमा टेन्ट बनाएर त्यहाँ राखिएको छ। त्यो टेन्ट पनि गणकै सामग्री प्रयोग गरी बनाइएको खुलेको छ।
स्रोतका अनुसार एसपी कार्कीले दैनिक ६ देखि ८ जनालाई बिहान र साँझ गरी ८ घन्टा आफ्नो घर बनाउने काममा लगाउँछन्।
'एसपी साहबले ५ जनालाई नियमित खटाइरहनुभएको छ। अरु २–३ जना जवानलाई पालैपालो परिवर्तन गरेर खटाउनुहुन्छ,’ गणमा कार्यरत एक प्रहरीले भने, ‘एसपी साबले भनेको कुरामा नाई भन्न सक्ने अवस्था पनि हुँदैन। प्रतिवाद गर्न सक्ने अवस्था छैन।
गणकै गाडीमा एसपी कार्कीको घर बनेको ठाउँमा प्रहरी लैजाने र ल्याउने गरिएको ती प्रहरीले बताए। विहान र साँझ गरी ४/४ घण्टा काम विगत दुई महिनादेखि सिपाहीहरुसँग मजदुरको रुपमा कार्य गराउँदै आएका छन् ।
‘एसपी साबको आदेश भएपछि जस्तोसुकै काम गर्नुपर्छ । उहाँको नीजी घर बनाउन खटिने साथीहरुलाई पुरस्कृत गर्ने गरिएको छ। नमाने विभिन्न पीडाहरु भोग्नुपर्छ,’ उनले थपे।
एसपी कार्कीको घर निर्माणको काम भइरहेको केही तस्बिरहरु समेत हामीले फेला पारेको छौं। उक्त तस्बिरमा केही कामदारहरू घर बनाइरहेका छन्।
तस्बिरमा देखिएका प्रहरी हुन् कि अन्य मजदुर हुन् भन्नेबारे हामीले गणकै ती प्रहरीलाई सोधेका छौं।
उनले तस्बिरमा देखिएका केही कामदार प्रहरी नै भएको पुष्टि गरेका छन्।
उनका अनुसार घर निर्माणमा खटिने प्रहरी जवानहरू मुकेश यादव, अर्जुन गरूधामी, कपिलदेव यादव, प्रहरी कार्यालय सहयोगी रामदयाल राम र एसपी कार्कीको सुरक्षा गार्डसमेत रहेका प्रहरी सहायक हवलदाल वेदबहादुर राई हुन्।
ती सबै प्रहरी नेपाल प्रहरी विशेष सुरक्षा गणमा दरबन्दी रहेको गण स्रोतको भनाइ छ। एसपी कार्की आफैले पनि प्रहरी कर्मचारीले घर निर्माणमा सघाइरहेको स्वीकार गरेका छन्।
‘कहिलेकाहीँ म गएको बेला उनीहरूले काम गरेको हो। प्रहरीकै रिफ्रेश सेन्टरको काम पनि लालगढ नजिकै पर्छ। त्यहाँबाट जाँदा कहिलेकाहीँ गर्थे,’ एसपी कार्कीले भने।
हामीले हाकिमले आफ्नो घर बनाउन मातहतको प्रहरी परिचालन गर्न पाउँछ भनी मधेस प्रदेश प्रहरी प्रमुखलाई सोधेका छौं।
डीआइजी यज्ञविनोद पोखरेलले व्यक्तिगत काममा प्रहरी र सरकारी सवारी साधान प्रयोग गर्न नमिल्ने बताए। एसपी कार्कीले आफ्नो घर बनाउन प्रहरी परिचालन गरेको भन्ने विषय आफ्नो जानकारीमा नभएको पनि उनले बताए।
‘त्यसो गर्न मिल्दैन। के रहेछ म बुझ्छु। गरेको हो भने कारबाही हुन्छ,’ उनले भने ।
यता, एसपी कार्कीले वन कर्मचारीलाई थर्काएर प्रहरी गाडीमा काठको गोलियाहरु समेत लगेको बताईन्छ । वन कर्मचारीलाई पदको धाक देखाउँदै एसपी कार्कीले आफ्नो घर बनाउन सरकारी काठ लगेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…